काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई मंसिर १८ गतेअघि नै महाधिवेशनको मिति तोक्न अल्टिमेटम दिएका छन्। उनका अनुसार वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल मंसिर १८ गते सकिने भएकाले सो मितिभन्दा अघि नै महाधिवेशनको तयारी थालिनु आवश्यक छ, अन्यथा कार्यसमिति नै अवैध हुने चेतावनी उनले दिएका छन्।
आइतबार काठमाडौँमा जबरा पक्षधर नेताहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जबराले महाधिवेशनको मिति तोक्न दबाब दिने उद्देश्यले नै भेला आयोजना गरिएको बताए। उनले भने, “पार्टीको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन नियमित महाधिवेशन अपरिहार्य छ, त्यसैले अब ढिलाइ गर्नु हुँदैन।”
भेलाले आगामी महाधिवेशनको मिति छिट्टै तोक्न, कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा गर्न र पार्टीभित्र एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ।
महामन्त्री जबराले संघीयता र गणतन्त्र खारेज गरी देशलाई राजसंस्थासहितको हिन्दुराज्यमा पुनःस्थापना गर्नुपर्ने पार्टीको मूल एजेन्डालाई सशक्त रूपमा अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन्।
गत माघदेखि केन्द्रीय समिति बैठक बस्न नसकेको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले संगठन सञ्चालनमा उदासीनता देखाएको आरोप समेत लगाए। जबरा समूहले अब नियमित केन्द्रीय बैठक र महाधिवेशन तयारीका लागि सशक्त दबाब अभियान चलाउने चेतावनी दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया