असोज २८, २०८२ मंगलबार October 14, 2025

बन्धक मुक्त भएपछि गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा

सोमबारसम्म ४८ जना इजरायली बन्धकहरू जीवित र मृत दुवै मुक्त गरिने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेरुसेलम, २६ असोज । इजरायलले आफ्ना बन्धकहरू मुक्त भएपछि अमेरिकी स्वीकृतिमा गाजा क्षेत्रमा रहेको हमासको भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना बनाएको जनाएको छ ।

रक्षामन्त्री इजरायल काट्जले आइतबार जारी गरेको विज्ञप्तिमा भने, “बन्धक मुक्तिको चरणपछि इजरायलको सबैभन्दा ठूलो चुनौती गाजामा रहेका हमास आतङ्कवादी सुरुङहरूको सम्पूर्ण विनाश हुनेछ । मैले सेनालाई यो अभियानका लागि तयार रहन आदेश दिएको छु ।”

काट्जका अनुसार यो अभियान संयुक्त राज्य अमेरिकाको नेतृत्वमा स्थापित ‘अन्तर्राष्ट्रिय संयन्त्र’ अन्तर्गत सञ्चालन गरिनेछ । उक्त संयन्त्रले हालै सम्पन्न तीन दिनको गाजा युद्धविरामलाई पनि प्रायोजन गरेको थियो ।

हमासले गाजा भूमिगत क्षेत्रमा व्यापक सुरुङ सञ्जाल सञ्चालन गर्दै आएको छ । ती सुरुङले हमासका लडाकूहरूलाई इजरायली निगरानी र हवाई आक्रमणबाट बच्न मद्दत गर्दछ । ती सुरुङमध्ये केहीले इजरायलको सीमापर्खालमुनि प्रवेश गर्दै आकस्मिक आक्रमणहरू गर्न सम्भव बनाएका थिए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको सीमापार आक्रमणपछि सुरु भएको दुई वर्ष लामो युद्धमा यी सुरुङहरू मध्ये धेरै नष्ट भइसकेका छन् । तथापि रक्षामन्त्री काट्जले बाँकी रहेका सबै सुरुङहरू ‘हमासको निःशस्त्रीकरण र विसैन्यीकरणको ढाँचा’ अन्तर्गत पूर्ण रूपमा ध्वस्त पारिने बताए । यो योजना अमेरिका समर्थित युद्धविरामको दोस्रो चरणमा समावेश गरिएको छ ।

हमासले भने अमेरिकी प्रस्तावको पहिलो चरणमा सहमति जनाइसकेको छ । उक्त सहमतिअनुसार गत शुक्रबार युद्धविराम लागू भएको हो । यस योजनाअनुसार सोमबारसम्म ४८ जना इजरायली बन्धकहरू जीवित र मृत दुवै  मुक्त गरिने अपेक्षा गरिएको छ ।

यसको सट्टामा इजरायलले २५० जना ‘राष्ट्रिय सुरक्षा कैदी’ लाई रिहा गर्ने योजना बनाएको छ, जसमा घातक आक्रमणमा संलग्न भई दोषी ठहरिएका कैदीहरू र हाल इजरायली सेनाले नियन्त्रणमा लिएका करिब एक हजार सात सय गाजाबासी समावेश हुनेछन् ।

तर, हमासले निःशस्त्रीकरणको मागलाई अस्वीकार गरेको छ । सङ्गठनका वरिष्ठ अधिकारी होसम बद्रानले आइतबार एएफपीसँग कुरा गर्दै अमेरिकी योजनाको दोस्रो चरण ‘धेरै जटिल र कठिन’ रहेको प्रतिक्रिया दिए ।

इजरायलले भने गाजाको भूमिगत आतङ्कवादी संरचनालाई ‘पूर्ण रूपमा समाप्त गर्नु’ आफ्नो दीर्घकालीन सुरक्षा लक्ष्य भएको दोहो¥याएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया