काठमाण्डौं, २६ असोज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा आन्तरिक विवाद चरम सीमा पुगेपछि पार्टी औपचारिक रूपमा विभाजित भएको छ।
जनमत पार्टीका उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनीहरूले आइतबार निर्वाचन आयोग पुगेर ‘जनस्वराज पार्टी’ नाममा नयाँ दल दर्ता गर्न निवेदन दर्ता गराएका हुन्। आयोगले सो निवेदनको प्रारम्भिक अध्ययन गरे पनि सनाखत प्रक्रिया बाँकी रहेको जनाएको छ।
साह पक्षका अनुसार, पार्टी नेतृत्वले एकल निर्णय गर्दै संस्थागत परामर्श र आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेपछि नयाँ दल दर्ताको निर्णय गरिएको हो। ‘हामी लोकतान्त्रिक अभ्यास र जनताको अधिकारको पक्षमा छौँ, तर पार्टीमा एकल व्यक्ति केन्द्रित निर्णयले हाम्रो विचारधारा कमजोर पार्दै थियो,’ साहले भने।
जनमत पार्टीका अर्का उपाध्यक्ष अब्दुल खानले यसअघि नै पार्टी परित्याग गरिसकेका छन्। हालको विवाद र विभाजनले पार्टीमा बढ्दो असन्तुष्टि सतहमा आएको प्रष्ट भएको विश्लेषण गरिँदैछ।
जनमत पार्टीमा ५२ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ। तीमध्ये करिब १० जनाले नयाँ पार्टीमा खुला समर्थन जनाइसकेका छन् भने अन्य केही नेताहरू मौन छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीले ६ सिट जित्दै राष्ट्रिय पार्टीको मान्यता पाएको थियो। पार्टीले मधेस प्रदेश सरकारको नेतृत्वसमेत गरिरहेको छ, जहाँ सतिशकुमार सिंह मुख्यमन्त्री छन्।
यस विभाजनले मधेस प्रदेश सरकारको स्थायित्वमा पनि असर पर्न सक्ने अनुमान गरिएको छ। विभाजित समूहले प्रदेश सरकारमा रहेका आफ्ना प्रतिनिधिहरूलाई फिर्ता बोलाउने तयारी समेत गरिरहेको बताइएको छ।
पार्टी अध्यक्ष डा. सीके राउत निकट स्रोतले भने पार्टीमा कुनै गम्भीर विभाजन नभएको दाबी गर्दै आयोगमा दर्ता प्रक्रिया पूरा नहुँदासम्म यस्ता गतिविधि “राजनीतिक हतारो” भएको प्रतिक्रिया दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया