काठमाडौंः भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्बन्धी प्रमाण संकलन गर्न गठित विज्ञ समूहले ती क्षेत्रको स्थलगत अवलोकन नगर्ने भएको छ ।
कोरोना भाइरस महामारीको कारण स्थलगत अवलोकन गर्न नसकिएको हो । प्रतिवेदनमा स्थलगत अवलोकन खण्डमा ‘थाँती’ भनेर लेख्ने निर्णय भएको बताइएको छ । गत जेठ २२ गते नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीको नेतृत्वमा गठित समूहको प्रारम्भिक प्रतिवेदन भने अन्तिम चरणमा पुगेको छ । प्रतिवेदनबारे अन्तर्राष्ट्रिय कानुनविद् डा. सूर्यप्रसाद सुवेदीको मात्रै प्रस्तुति बाँकी बताइएको छ ।
सरकारले उप्रेतीको नेतृत्वमा, सुवेदी, इतिहासविद् डा. रमेश ढुंगेल, संविधानविद् डा. विपिन अधिकारी, जलस्रोतविद् जगतकुमार भुसाल, नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बराल, नेपाल आर्मीका पूर्वमेजर जनरल हिमालय थापा, सामुदायिक वन उपभोक्ता महासंघकी पूर्वअध्यक्ष अप्सरा चापागाईँ र परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी सदस्य रहेको ‘विज्ञ समूह’ गठन गरेको थियो ।
लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको तीन हप्तापछि सरकारले प्रमाण संकलन समूह बनाएपछि आलोचना भएको थियो । भारतले नेपाली भूमि लिपुलेक र कालापानीमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया