गोदावरी (कैलाली)। गत भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुनसकेको छैन। क्षतिग्रस्त प्रदेशसभा भवन र अन्य संरचना मर्मत तथा व्यवस्थापनको काम पनि अझै सुरु भएको छैन।
प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो।
सभामुख भीमबहादुर भण्डारीले संरचना मर्मत र आवश्यक सामग्री व्यवस्थापनका लागि छलफल भइरहेको बताए। प्रदेशसभाको बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटपलगायत सम्पूर्ण समान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्ने उनको भनाइ छ।
प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको छ। सचिवालयका अनुसार प्रदेशसभाका छ वटा चारपाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल आगजनीबाट नष्ट भएका छन्। करिब रु १२ करोडको भौतिक क्षति भएको छ।
सचिवालयका सचिव देवबहादुर बोगटीले भवन मर्मत र आवश्यक प्राविधिक सामग्री व्यवस्थापनका लागि स्रोतको समस्या रहेको बताए। प्रदेशसभा बैठक कक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका लागि मात्रै कम्तीमा रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए।
गत भदौ ५ मा प्रदेशसभा बैठक बसेको थियो। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेशसभामा हाल चारवटा विधेयक विचाराधीन छन्। प्रदेशसभाको अधिवेशन अन्त्य भएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया