कार्तिक १२, २०८२ बुधबार October 29, 2025

गौरीबहादुर कार्की जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता

गलत पृष्ठभूमि भएका व्यक्तिलाई संयोजक बनाउनु नै आयोगको उद्देश्य र निष्पक्षताको मापदण्ड विपरीत भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ९ कात्तिक । जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे जाँचबुझ गर्न सरकारले गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

अधिवक्ता विपिन ढकालले आज सर्वोच्च अदालतमा आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै रिट पेश गरेका हुन् । सर्वोच्च अदालतले रिट दर्ता गर्नका लागि अध्ययनको कार्य भइरहेको सर्वोच्च अदालतका सह–रजिष्ट्रार समेत रहेका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

ढकालले दायर गरेको रिटमा आयोगका अध्यक्ष कार्कीले विगतमा सार्वजनिक पदमा रहँदा देखाएको भूमिका र अभिव्यक्तिका कारण निष्पक्षताको शंका उत्पन्न भएको उल्लेख गरिएको छ ।

उनले यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई संयोजक बनाउनु नै आयोगको उद्देश्य र निष्पक्षताको मापदण्ड विपरीत भएको दाबी गरेका छन् । रिटमार्फत ढकालले आयोगको वैधानिकता, गठन प्रक्रिया र त्यसको अधिकार क्षेत्रबारे पनि प्रश्न उठाएका छन् ।

सरकारले हालै जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र जनधन क्षतिको छानबिनका लागि कार्कीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया