कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल जानुभई सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको छ ।

छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुग्नुभएको थियो । राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । देशका विभिन्न भागमा भव्य रुपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत स्थानका नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यस वर्ष विगत वर्षभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ६०० छठघाट निर्माण गरिएकामा यस वर्ष ७०० भन्दा बढी निर्माण गरिएका छन् । एउटा छठघाटको रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई उपलब्ध गराइएको छठ पूजा समितिका अनिल सिंहले राससलाई जानकारी दिनुभयो ।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका वर्तालु मङ्गलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पाँच पाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल गरेका उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहीआएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया