काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा निवेदन दर्ता गरेको छ। मंगलबार नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा गएको टोलीले काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालयमा निवेदन बुझाएको हो।
पार्टीले आफ्नो नाम “कम्युनिस्ट पार्टी, नेपाल” प्रस्ताव गरेको छ। आयोगले प्राप्त निवेदन र संलग्न कागजातहरूको अध्ययन गरी आवश्यक प्रक्रिया पूरा भएपछि दल दर्ता सम्बन्धी निर्णय गर्ने जनाएको छ।
एक समय सशस्त्र गतिविधिमा संलग्न रही प्रतिबन्धित भएको यो पार्टीले मूलधारको राजनीतिमा प्रवेश गर्ने तयारीस्वरूप दल दर्ता प्रक्रिया अघि बढाएको हो। केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे शान्ति सम्झौता गर्दै भूमिगत राजनीति त्यागेको विप्लव समूहले यसअघि निर्वाचन प्रणाली र संसदीय व्यवस्थाको आलोचना गर्दै आएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया