कार्तिक ११, २०८२ मंगलबार October 28, 2025

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बुधबार त्रिपक्षीय वार्ता हुँदै

सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच त्रिपक्षीय छलफल आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ कात्तिक । निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।

यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए । यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ ।

निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताए । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । सोहीअनुसार आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया