मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

नेपाल–चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने

नाकामा पूर्वाधार निर्माणका लागि स्थानीय तह एक्लैले काम गर्न गाह्रो हुने भएकाले प्रदेश सरकारसँग समन्वय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल-चीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो ।

नेपाल–चीन कोरलानाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जगदीश जोशीले जानकारी दिए । उनले कोरलास्थित सीमानाकामा हाटबजार निर्माणका लागि प्रारम्भिक सर्वे अध्ययन गरिएको उल्लेख गरे ।

“हाटबजार लागि सर्वे अध्ययन, लागत अनुमान र डिजाइनको काम सुरु गरेका छौँ । साथै स्थानीय जनप्रतिनिधि र हाटबजार चलाउने व्यापारीको धारणा बुझ्दै छौँ”, उनले भने, “यसलाई कस्तो डिजाइनको बनाउने भन्ने अहिले यकिन भइसकेको छैन ।”

नेपाल-चीन उत्तरी कोरलानाका वि.सं २०८० कात्तिक २७ गते औपचारिक रूपमा उपल्लो मुस्ताङका नागरिकका लागि खुल्ला गरिएको थियो । सीमावर्ती क्षेत्रका स्थानीय नागरिकका लागि बाह्रै महिना कोरलानाकाको ढोका खुल्ला गरिएसँगै चिनियाँ मालसामान बिक्री गर्न अस्थायी रूपमा त्रिपाल टाँगेर हाटबजार सञ्चालन गर्दै आइरहेका छन् । नाका आसपास करिब दुई दर्जन बढी नागरिकले हाटबजारमार्फत व्यापार सञ्चाल गर्दै आएका छन् ।

समुन्द्री सतहबाट चार हजार ६२० मिटरको उचाइमा अवस्थित कोरलानाकामा हाटबजारका साथै स्थानीय युवालाई वैकल्पिक व्यापार व्यवसाय चलाएर आर्थिक जीविकोपार्जनमा योगदान पुगेको छ । नाकामा हाटबजार चलाउने स्थानीयका लागि भरपर्दो पूर्वाधार नहुँदा हिमपात, चिसो र हावाहुरीको सामाना गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले पूर्वाधार निर्माणको पहल थालिएको जोशीले बताए ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जोशीले कोरलानाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि विनियोजित बजेट अपुग हुने देखिएमा प्रदेश सरकारसँग थप माग गर्नुपर्ने आवश्यकता औँल्याए ।

वि. सं २०८१ कात्तिक १४ गते नेपाल–चीन सिमाना कोरलास्थित अध्यागमन कार्यालयको उद्घाटनमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाकामा अव्यवस्थित रूपमा सञ्चालन भएका हाटबजारलाई व्यवस्थित गर्ने बताएका थिए । त्यसपछि उनले नाकामा हाटबजार व्यवस्थापन गर्न आंशिक बजेट विनियोजन गरेका हुन् । प्रदेश सरकारबाट विनियोजित बजेट न्यून भएको स्थानीय सरोकार भएकाहरूको भनाइ छ ।

पछिल्लो समय कोरलानाका व्यापारिक केन्द्रका रूपमा मात्रै नभई पर्यटकीय गन्तव्यसमेत बनेको छ । नाकामा हुने अनुकूल मौसमका कारण दिनहुँ सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । गत ३० भदौदेखि यस नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै पर्यटकीय चहलपहल पनि बढेको स्थानीय बताउँछन् ।

नाकामा नेपाल पक्षबाट आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ पुग्ने पर्यटक तथा हाटबजार चलाएर बस्ने नागरिकलाई सास्ती हुँदै आएको छ । नाकामा खानेपानी, शौचालय र हाटबजारका स्टललगायत पूर्वाधार नहुँदा समस्या हुँदै आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाकामा पूर्वाधार निर्माणका लागि स्थानीय तह एक्लैले काम गर्न गाह्रो हुने भएकाले प्रदेश सरकारसँग समन्वय गरिएको उनको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सम्झौता
२०८२ मंग्सिर ७, आइतबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक
२०८२ मंग्सिर ७, आइतबार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा-सूची’ भएको दाबी
२०८२ मंग्सिर ७, आइतबार
‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ : भीम रावल
२०८२ मंग्सिर ७, आइतबार
जेनजी समूहको अराजक गतिविधि नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको कडा चेतावनी
२०८२ मंग्सिर ७, आइतबार
बारा र पर्सामा हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
२०८२ मंग्सिर ७, आइतबार
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
२०८२ मंग्सिर ७, आइतबार