गुल्मी।मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले उक्त क्षेत्रमा सडक स्तरोन्नतिका क्रममा सडक मापदण्डभित्र पर्ने घरटहरा र संरचनाको रकम उपलब्ध गराउन थालेको हो ।
रिडी–तम्घास सडकमा मदन भण्डारी राजमार्ग योजना कार्यालयले क्षतिपूर्तिबापत स्थानीयलाई हालसम्म रु एक करोड ५२ लाख भुक्तानी गरिसकेको सूचना अधिकारी एवं इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । यसपटक कम बजेट विनियोजन भएका कारण यस आर्थिक वर्षमा ५० प्रतिशतमात्र उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
कार्यालयले रिडी–तम्घास सडकखण्डमा सडक मापदण्डभित्र पर्ने २७ घरटहरा तथा संरचनाको क्षतिपूर्ति उपलब्ध गराइसकेको छ । उक्त खण्डमा क्षतिपूर्तिबापत रु पाँच करोड २३ लाख ६१ हजार मूल्याङ्कन गरिएको छ । सो मूल्याङ्कनमध्ये हालसम्म रु एक करोड ५२ लाखमात्र भुक्तानी उपलब्ध गराएको कार्यालय प्रमुख रमेश चौधरीले जानकारी दिनुभयो । क्षतिपूर्ति प्राप्त गर्न मापदण्डभित्र पर्ने संरचना हटाएपछि मात्र भुक्तानी पाउने भएकाले अन्य व्यक्तिको भुक्तानी पनि प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
कार्यालयले पहिलो चरणअन्तर्गत एक सय दुई जनालाई क्षतिपूर्ति रकम उपलब्ध गराउन लागेको हो । जिल्लामा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिबाट भएको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले यसअघि नै क्षतिपूर्ति पाउनेहरूको नामावली सार्वजनिक गरी सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यसका लागि प्रभावित क्षेत्रका घरधनीलाई कार्यालयले मापदण्डभित्र पर्ने घरटहरा र संरचना हटाउन सूचित गरिसकेको छ ।
क्षतिपूर्ति प्राप्त गर्न सडक स्तरोन्नतिका क्रममा घरटहरा, शौचालय, गोठ तथा अन्य भौतिक संरचनाको आवश्यक कागजात पेस गर्न सम्बन्धित संरचना धनीलाई आग्रहसमेत गरिसकेको सूचना अधिकारी पौडेलले बताउनुभयो । प्रभावित घरधनीले क्षतिपूर्ति प्राप्त गर्न नागरिकता र लालपुर्जाको प्रतिलिपि, ब्लुप्रिन्ट नक्सा, वडा कार्यालयको सिफारिस, घरधनीको निवेदन, आव २०८२-८३ को तिरो तिरेको रसिद, वडा कार्यालयको मुचुल्का तथा घरको चारैतिर देखिने तस्बिर आवश्यक पर्ने बताइएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डको रिडीदेखि गुल्मीदरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ । उक्त सडक स्तरोन्नतिका लागि जिल्लाको रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार गाउँपालिकाले निर्माणकार्यलाई सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन स्थानीयलाई आग्रह गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया