काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र एकपछि अर्को असन्तुष्टि र राजीनामाको क्रम चलिरहेका बेला काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पनि पदबाट राजीनामा दिएका छन्।
तर उनले पार्टी सदस्यता भने यथावत् राख्ने स्पष्ट गरेका छन्। कार्यव्यस्तताका कारण जिल्ला सभापतिको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने भएपछि राजीनामा दिएको विष्टले बताए। “पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएकाले जिल्ला सभापतिबाट मात्र राजीनामा दिएको हुँ,” विष्टले भने।
राजीनामा दिनुअघि आइतबार उनले जिल्ला कार्यसमिति बैठक बोलाएका थिए। सहभागीहरूले उनले राजीनामा नदिन आग्रह गरे पनि विष्टले थप सोचविचारपछि पद छाड्नै उपयुक्त ठानेका हुन्। उनले पार्टी प्रचलनअनुसार बागमती प्रदेश समितिमा आफ्नो राजीनामा बुझाएका छन्।
विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं–१० बाट रास्वपाका उम्मेदवारसमेत रहेका थिए। पछिल्लो समय रास्वपामा लगातार नेताहरू पद र जिम्मेवारी त्याग्दै गएपछि नेतृत्वको शैली, निर्णयप्रक्रिया र आन्तरिक संवादको अभावबारे गम्भीर प्रश्न उठ्न थालेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया