काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गरेका छन् ।
चम्पादेवी-६, ओखलढुंगा घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको सन्दर्भमा, उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गराउन अनुरोध गर्दै निवर्तमान सांसद खतिवडाले गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालसँग आइतबार विशेष भेटवार्ता गरेका हुन्।
भेटका क्रममा खतिवडाले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले आगामी फागुन २१ गते हुने निर्वाचनमा जाने आधिकारिक निर्णय गरिसकेकाले मुलुकभर शान्ति-सुरक्षाको वातावरण मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराए ।
उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुन आवश्यक पूर्वाधार तथा सुरक्षा तयारी तत्काल अघि बढाउन आग्रह गरे ।
यससँगै, हाल केही अराजक समूहहरूले घर-घर गएर धम्क्याउने, त्रास फैलाउने तथा अवाञ्छित गतिविधि गर्ने घटनाहरू बढ्दै गएकोबारे गम्भीर चासो व्यक्त गर्दै, त्यसप्रति गृह मन्त्रालयले तत्काल कडाइका साथ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।
उनले यस्ता गतिविधिले जनताको मनोबल कमजोर पार्ने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले राज्य संयन्त्र सशक्त रूपमा परिचालन गर्न आग्रह गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया