विराटनगर, ९ मङ्सिरः विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालबाट आजदेखि चौबीसैँ घण्टा निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेको छ ।
मातृ तथा शिशुको मृत्युदर घटाउने उद्देश्यले विराटनगर दक्षिणी क्षेत्रमा निःशुल्क प्रसूति सेवा सुरु गरिएको महानगरले जनाएको छ । आज यहाँ सेवा शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रसूति सेवा सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको बताउनुभयो ।
विराटनगर महानगरपालिका–१५ का अध्यक्ष प्रकाश साहले महानगर नेतृत्वले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेवा सुरु गरेकामा धन्यवाद दिनुभयो ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा सुरेश मेहताले आगामी दिनमा अन्य निकायसँग समेत समन्वय गरेर अस्पतालको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा दिलीपकुमार यादवले अस्पतालमा तालिमप्राप्त जनशक्तिको व्यवस्था मिलाई सेवा प्रभावकारी बनाइएको बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश कार्की, रानी अस्पतालका प्रमुख मानिकचन भगत, समाजसेवी दीनानाथ आचार्यलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
रानी अस्पतालमा हाल फिजियो थेरापी, ओपिडी, स्वास्थ्य बिमा, परिवार नियोजन, खोप, मातृ शिशु, मनोपरामर्शलगायत सेवाहरू उपलब्ध भइरहेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया