काठमाडौँ । वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच औपचारिक एकीकरण हुने तय भएको छ।
विवेकशील साझाको आज बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले प्रस्तुत गरेको ‘बृहत्तर धृवीकरण-एकीकरण प्रस्ताव’ सर्वसम्मत रुपमा स्वीकृत गरेको जानकारी पार्टी प्रवक्ताले दिए।
विवेकशील साझाका नेता परियारले भने, “वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको बेला हालैको ‘जेनजी विद्रोह’ ले हाम्रो र रास्वपाबीचको एकीकरणलाई तिब्र बनाएको छ। अब हामी प्रतिनिधिसभा चुनावमा वैकल्पिक शक्ति भएर नयाँ, सक्षम र उत्तरदायी सरकारका लागि जनता समक्ष जानेछौँ।”
दुवै दलबीचको सहकार्य र एकीकरण प्रक्रियाका अन्य प्राविधिक पक्षहरू छिट्टै टुंग्याउने र आगामी आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा औपचारिक घोषणा कार्यक्रम गर्ने निर्णय गरिएको छ।
विवेकशील साझाले विगत केही समयदेखि पार्टी नाम, चुनाव चिन्ह र संगठनात्मक संरचनासहित नयाँ, समेकित वैकल्पिक राजनीतिक क्षेत्र खडा गर्ने प्रस्ताव अघि सारेको थियो।
यो एकीकरणले वैकल्पिक दलहरूलाई प्रभावकारी, संगठित र लोकप्रिय राजनीतिक स्थापितीकरणतर्फ पहिलो ठूलो कदम रहेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया