काठमाण्डाैंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको कार्यकाल आजबाट सकिदैछ । २०७५ साल असोज ४ गते नियुक्त हुनु भएका घिमिरेको उमेरहदका कारण आजदेखि कार्यकाल सकिन लागेको हो ।
अख्तियारका पदाधिकारी ६ बर्ष पदावधि वा ६५ बर्ष उमेर हदका कारण अवकाश हुने ब्यवस्था छ । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।
तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यातको उमेर हदका कार्यकाल सकिएपछि दोस्रो वरीयतामा रहेका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । घिमिरेको नेतृत्वमा रहेको अख्तियारले ठूला अनियमितामा अनुसन्धान नगरेको भन्दै आलोचना भएको छ ।
एक अर्ब २४ करोडको औषधी खरिदमा ओम्नीलाई विनाप्रतिस्पर्धा ठेक्का, नेपाल ट्रस्टका जग्गामा यतीको एक्लौटी र रेलमार्गका नाममा ३३ अर्बको ठेकेदारी मिलेमतोलगायतका दर्जनभन्दा बढी ठूला काण्डमा छानबिन गर्ने दायित्वबाट अख्तियार पन्छिएको भन्दै आलोचना भएको हो ।
घिमिरेको कार्यकाल सकिएसँगै प्रमुख आयुक्तका दाबेदारको रुपमा आयुक्त गणेशराज जोशीको चर्चा चलेको छ । सरकारले जोशीलाई नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया