काठमाडौं । समान विचारधारा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच बुधबार राजधानीमा आयोजित कार्यक्रममा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण घोषणा गरिएको छ । सहमतिपत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका हुन् । एकीकृत पार्टीको नाम राप्रपा नै रहनेछ ।
एकीकरणपछि पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन रहने, विधान, झण्डा र चुनाव चिन्ह साविककै (हलो) कायम रहने सहमति भएको छ । राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित ‘सम्बर्धनवाद’ नै पार्टीको वैचारिक दर्शन रहनेछ, जसमा राजसंस्थासहितको लोकतन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति समावेश छन् ।
संगठन समायोजनका क्रममा २०७८ को महाधिवेशनबाट निर्वाचित भई हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिनेछ भने अन्य पदाधिकारी तथा सदस्यहरू सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिनेछन् । जिल्ला, स्थानीय तह र भातृ संगठनहरू पनि सम्मानजनक ढंगले समायोजन गरिने सहमति भए पनि एकीकृत पार्टीमा कमल थापाको भूमिकाबारे सहमतिपत्रमा खुलाइएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया