गुल्मी, १८ पुसः गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उहाँकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभएको छ ।
दुर्घटनामा चार जना घाइते भएका थिए । दुई जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, दुर्घटनामा मृतक मनकलाका नाति छ वर्षीय अनुभव गिरी र पैदल यात्री गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लिलावती अर्याल घाइते हुनुभएको छ । घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा ‘रिफर’ गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया