काठमाडौँ । मधेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएका धार्मिक तनाव र असहिष्णुताका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विभिन्न ७ वटा संवैधानिक तथा राष्ट्रिय आयोगहरूले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव, सहिष्णुता र मैत्री कायम गर्न आग्रह गरेका छन् ।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै आयोगहरूले नेपाली समाजको ऐतिहासिक पहिचान आपसी सम्मान, सहअस्तित्व र सहिष्णुतामा आधारित रहेको स्मरण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, “नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक–अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय मिलेर बसेको समाज हो।”
तर पछिल्लो समय तराई–मधेशका केही स्थानमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि देखिन थालेको भन्दै आयोगहरूले चिन्ता व्यक्त गरेका छन् । यस्ता गतिविधिले सामाजिक एकता, शान्ति र राष्ट्रिय सद्भावमा नकारात्मक असर पार्ने भएकाले सबै पक्ष संयमित र जिम्मेवार बन्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगहरूले धार्मिक आस्थाका नाममा घृणा फैलाउने, उत्तेजना सिर्जना गर्ने तथा सामाजिक सद्भाव भङ्ग गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । साथै, यस्ता गतिविधिमा संलग्न जो कोहीमाथि कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।
संयुक्त विज्ञप्तिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम र आम नागरिकलाई आपसी संवाद, सहकार्य र संयमताका माध्यमबाट समस्या समाधान गर्न अपिल गरिएको छ । आयोगहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नु नै संविधानको मर्म र लोकतान्त्रिक मूल्यको संरक्षण हुने जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया