पुष २३, २०८२ बुधबार January 7, 2026

इरानमा शासन संकट गहिरिँदै, खामेनीको देश छोड्ने योजनाबारे गुप्तचर रिपोर्ट

पछिल्लो आठ दिनदेखि ७८ शहरका २२२ भन्दा बढी स्थानमा सर्वोच्च नेता खामेनीविरुद्ध देशव्यापी प्रदर्शन चर्किदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इरानमा जारी व्यापक विरोध प्रदर्शनका बीच इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देश छोड्ने तयारी गरेको दाबी गरिएको छ। बेलायती पत्रिका द टाइम्स ले उद्धृत गरेको गुप्तचर रिपोर्टअनुसार यदि वर्तमान प्रदर्शन नियन्त्रण बाहिर गयो भने खामेनी रूस भाग्न सक्ने योजना बनाइरहेका छन्।

रिपोर्टका अनुसार ८६ वर्षीय खामेनी आफ्ना छोरा तथा सम्भावित उत्तराधिकारी मोज्तबा खामेनीसहित करिब २० जनाको सानो समूह लिएर तेहरान छोड्न सक्ने बताइएको छ। यस योजनाअन्तर्गत आवश्यक सम्पत्ति र नगद रकम पहिल्यै विदेशमा सुरक्षित गरिसकिएको गुप्तचर स्रोतहरूको दाबी छ।

इरानमा पछिल्लो आठ दिनदेखि सर्वोच्च नेता खामेनीविरुद्ध देशव्यापी प्रदर्शन भइरहेको छ। मानव अधिकारकर्मीहरूका अनुसार ७८ शहरका २२२ भन्दा बढी स्थानमा प्रदर्शन भएका छन्। प्रदर्शनका क्रममा तीन बालबालिकासहित कम्तीमा २० जनाको ज्यान गएको छ भने ४४ जना नाबालिगहरू पक्राउ परेका छन्।

खामेनीले विभिन्न परोपकारी संस्थामार्फत अर्बौं डलरको सम्पत्ति नियन्त्रण गर्दै आएको बताइन्छ। ती संस्थामध्ये ‘सेताद’ प्रमुख हो, जसको मूल्य अघिल्ला वर्षहरूमा धेरै अर्ब डलर आँकलन गरिएको थियो। रिपोर्टमा शासनसँग सम्बन्धित धेरै वरिष्ठ नेताहरूका परिवारका सदस्यहरू पहिले नै अमेरिका, क्यानडा र खाडी मुलुकहरूमा बसोबास गरिरहेको उल्लेख गरिएको छ।

विरोध प्रदर्शनको प्रमुख कारण आर्थिक संकट बनेको छ। डिसेम्बर २०२५ मा इरानी मुद्रा रियाल अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको थियो, जहाँ एक डलर बराबर करिब १.४५ मिलियन रियाल विनिमय दर कायम भएको थियो। वर्षको सुरुदेखि नै रियालको मूल्य झन्डै आधा घटिसकेको छ।

महंगी चरम सीमामा पुगेको छ। खाद्यान्नको मूल्य ७२ प्रतिशतले बढेको छ भने औषधिको मूल्य ५० प्रतिशतसम्म वृद्धि भएको छ। यसैबीच सरकारले २०२६ को बजेटमा ६२ प्रतिशत कर वृद्धि गर्ने प्रस्ताव गरेपछि आम नागरिकमा आक्रोश झनै बढेको छ।

देशभरि विशेषगरी जेन–जी पुस्ता आन्दोलनको अग्रपंक्तिमा देखिएको छ। प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै शासन परिवर्तनको माग गरिरहेका छन्।

अन्तर्राष्ट्रिय तहमा पनि चासो बढेको छ। गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै प्रदर्शनकारीहरूमाथि दमन भए कडा प्रतिक्रिया जनाइने बताएका थिए। “हामी पूर्ण रूपमा तयार छौं। यदि इरानले पहिले जस्तै मानिसहरूलाई मार्न थाल्यो भने उसले ठूलो मूल्य चुकाउनुपर्नेछ,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए।

अमेरिकास्थित मानव अधिकार संस्था एचआरएआई र ओस्लोस्थित हेन्गाभले इरानी सुरक्षा बलले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन्, जसमा बालबालिकासमेत प्रभावित भएको जनाइएको छ।

यसबीच, इरानको सरकारी फार्स समाचार एजेन्सीका अनुसार प्रदर्शनका क्रममा २५० जना प्रहरी तथा बासिज फोर्सका ४५ सदस्य घाइते भएका छन्।

इरानको गहिरिँदो आर्थिक संकट, बढ्दो महंगी र राजनीतिक असन्तोषले देशलाई गम्भीर संकटतर्फ धकेलिरहेको विश्लेषकहरूको टिप्पणी छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार