भाद्र ९, २०८३ मंगलबार August 25, 2026

साहित्यिक पर्यटनको गन्तव्य बन्दै आदिकविको जन्मथलो, एक अर्ब बजेट अनुमान

भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस २३ । भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने सो गुरुयोजनालाई मङ्गलबार बसेको भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो ।

स्वीकृत गुरुयोजनाअनुसार उद्यानको पुनर्निर्माणका लागि करिब रु एक अर्ब बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट रु २० करोड बजेट विनियोजन भइसकेको छ ।

उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्र सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माण गर्ने योजना रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

उनले गत आर्थिक वर्षमै रम्घाडाँडामा आवश्यक ‘रिटेनिङ वाल’ निर्माण तथा जग्गा अधिग्रहण काम सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब चार सय रोपनी जग्गा प्राप्त भइसकेको छ ।

उद्यानलाई साहित्य, संस्कृति र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बहुवर्षीय योजनामा समावेश गर्न आवश्यक प्रक्रिया अघि बढाइएको नगरप्रमुख त्रिपाठीको भनाइ छ । उनले भने, “गुरुयोजना कार्यान्वयनपछि उद्यानमा साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययन, अनुसन्धानका सुविधा विकास गरिने अपेक्षा गरिएको छ ।”

भाषाका माध्यमबाट जोड्ने आदिकविको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको छ । उनले भने, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा भानुभक्तको आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसारका सबै किसिमको धाम बनाउने परिकल्पना साथ अगाडि बढेका छौँ ।”

साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । नगरप्रमुख त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।

रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्नु, नेपालको सामाजिक तथा सांस्कृतिक एकीकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी सप्तधाम निर्माण गर्नु, रम्घाडाँडामा भानुभक्तकालीन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रूपमा प्रदर्शन गर्नु यसको उद्देश्य रहेको छ ।

भानु साहित्यिक उद्यानका लागि हालसम्म रु एक करोड ८० लाख खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा गरी रु एक करोड ८० लाख ४१ हजार ५०० खर्च भएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार