काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ । साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे ।
सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन् ।
एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिएकाे हाे । नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदाै १३ गते बसेकाे मन्त्रीपरिषद् बैठकले सम्झाैतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे थियाे । तर, भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनका कारण सरकार ढलेपछि सम्झाैतामा हस्ताक्षर गर्नमा ढिलाई भएकाे थियाे ।
सम्झौतामा हस्ताक्षर हुनु अघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो । बैठकका क्रममा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । उनले सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित तथा लागत–प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गर्ने बताए । साथै यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताए ।
सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।
यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास गरिएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
साउदीमा हाल श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापरवाही गर्ने गरेको जस्ता समस्या लिएर दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले साउदीका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएका थिए । भने अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा एक लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएर साउदी गएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया