काठमाण्डाैंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भए पनि पार्टी बचाउन सकिने बताएका छन्।
पौडेलले महाधिवेशन अन्योलमा पर्ने स्थिति भएकाले बाँकी अवधि सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए। ‘महाधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भन्ने मेरो आशय हो’, उनले भने।
वर्तमान नेतृत्वको नियत हेर्दा महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने कोसिस देखिएको पौडेलको आरोप छ। ‘एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराइएको छैन’, उनले भनेका छन्, ‘समायोजन नै नभएपछि क्रियाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो।’
महाधिवेशन र विशेष महाधिवेशनबारे आफ्नो भनाइ भनेर बंग्याएर गरिएको प्रचारको खण्डन गर्दै पौडेलले आफूले गत महासमिति बैठकदेखि नै पार्टीमा अधिवेशनको कार्यतालिका वनाएर ‘सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं’ भन्दै आएको बताएका छन्।
‘कांग्रेसको वर्तमान विधानअनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्ष तोकिएको छ’, पौडेलले भने, ‘असाधारण परिस्थिति परेको खण्डमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि बढाउन सक्ने भनिएको छ। विधानतः फागुनउता यो समिति कायम रहने आधार समाप्त हुँदै छ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया