काठमाण्डौंः चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले अन्ततः २८औं दिनमा अनशन तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आज आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका हुन् ।
कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर डा. केसीको अनशन तोडाएका हुन् ।
शनिबार राति त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि वार्ता टोलीले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।
सरकारी वार्ता टोलीका सदस्य तथा आयोगका निर्देशक डा. दिलीप शर्मा पनि सहमतिको प्रयासमा जुटेका थिए । सरकारले वार्ता नगरी अनशन मात्र तोड्न आग्रह गरेको भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो । सरकारसँग सहमति भएपछि भने चिकित्सक संघ र विभिन्न अस्पतालका आवासीय चिकित्सकहरुले पूर्व घोषित सबै संघर्षका कार्यक्रमहरु फिर्ता लिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया