काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटवार्ता भएको छ । शनिवार अपरान्ह ४ बजेतिर शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीसहित निकटस्थ केही नेताहरूसमेत भेटमा सहभागी रहेका थिए । के के छलफल भयो भन्ने केही बाहिर नआए पनि प्रधानमन्त्रीले पछिल्लो पटक देखिएको विवादका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुराकानी गरेको बुझिएको छ ।
पार्टीभित्र अप्ठेरो पर्दा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग छलफल गर्ने गरेका छन् । यसअघि पनि पार्टीमा विवाद हुँदा प्रचण्ड र ओलीले राष्ट्रपतिलाई साक्षी राखेर सहमति गरेका थिए।
शुक्रवार बसेको सचिवालय कमिटीको बैठकपछि अध्यक्षद्वयबीच भएका पत्र आदानप्रदानका शृङ्खला सार्वजनिक भएसँगै विवाद उत्कर्षमा पुगेको छ ।
सचिवालय बैठकमा यसअघि एकै प्रतिवेदन पेस गर्दै आएको भए पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत छुट्टै प्रतिवेदन पेस गरेपछि थप चरम उत्कर्षमा पुगेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया