काठमाण्डौंः गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ताको माग राखेर वीर अस्पतालका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलनमा छन् । न्याम्सअन्तर्गत खटिएका खासगरी ज्यालादारी र करार सेवाका स्वास्थ्यकर्मीले अघिल्लो वर्षदेखि तलब पाएका छैनन् ।
अस्पतालकै स्वास्थ्यकर्मीले पनि गुणस्तरीय सुरक्षा सामग्री र जोखिम भत्ता नपाएको बताएका छन् । देशभरका मेडिकल कलेज, प्रतिष्ठान, निजी र सामुदायिक अस्पतालमा यस्तो समस्या छ ।
सुरक्षा सामग्री नदिएकै कारण कोरोना संक्रमणका बिरामीबाट आफू संक्रमित हुनुपरेको र परिवारमा समेत रोग सारेर बस्नुपरेको आन्दोलनरत स्वास्थ्यकर्मीको भनाइ छ । वीरमा हालसम्म करिब पाँच सय स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । मास्क, पन्जालगायत सुरक्षाका लागि आवश्यक सामग्री आफैं किनेर लगाउनुपरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । ‘सेवा विस्तार भत्ता, औषधि खर्च, तलब केही दिएको छैन, अस्पतालको आम्दानी नभएको बहानामा तलब काटिएको छ,’ उनले भने ।
विपन्न वर्ग, ज्येष्ठ नागरिक, महिला स्वास्थ्यकर्मी, जनयुद्धका घाइतेको निःशुल्क उपचार कार्यक्रम सञ्चालन हुने अस्पताललाई कोरोना अस्पतालमा सीमित गर्दा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई मर्का पारेको अध्यक्ष आचार्यले बताए । स्वास्थ्यकर्मीलाई गुणस्तरीय सुरक्षा सामग्री दिनुपर्ने, तलब र जोखिमभत्ता नियमित गर्नुपर्ने आन्दोलनरत स्वास्थ्यकर्मीहरूको माग छ ।
नेपाल स्वास्थ्यकर्मी संघ लगायत स्वास्थ्यसम्बन्धी अन्य सात संगठनले पनि वीर अस्पतालको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । सबै संगठन एकजुट भएर स्वास्थ्य मन्त्रालय घेर्नेसमेत तयारी रहेको उनीहरूले बताए । आन्दोलनरत स्वास्थ्यकर्मीका माग जायज भए पनि पूरा गर्न नसकिएको वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । दैनिक १३ लाख आम्दानी हुने वीरमा अहिले दुई लाख पनि आम्दानी नभएकाले तलबभत्ता जुटाउन समस्या भएको उनको भनाइ छ ।
वीर अस्पतालका मात्रै होइन, देशभरका स्वास्थ्यकर्मीले पनि कोरोना जोखिम भत्तालगायत अन्य सुविधा पाएका छैनन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया