आर्थिक कारोबारबारे कमान सिंह लामासँग तपाईँले गर्नुभएको संवादको अडियो/भिडियो बाहिरिएको छ । यसको वास्तविकता के हो ?
म कुनै आर्थिक कारोबारमा संलग्न छैन । कमान सिंहजीसँग मेरो कुनै आर्थिक कारोबार अथवा लेनदेन केही पनि छैन । कुनै पनि हाइड्रोपावर प्रोजेक्टसँग मेरो संलग्नता छैन । यो आर्थिक कारोबार अथवा लेनदेनको विषय कमान सिंह लामा र अर्को हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित हो । दुवै जना हाम्रा पार्टीका साथीहरु भएको कारणले उहाँहरुको मध्यस्थता मात्रै गरेको हुँ । उहाँहरूबीच विवाद भएकोले कमरेड कमान सिंह लामाले नै यसबारे कुरा मिलाइ दिनुपर्यो भन्नु भएकोले मैले उहाँहरुलाई मिलेर जानुस् भनेको हुँ । न प्रोजेक्टसँग, न कमरेड कमान सिंहसँग, मेरो लेनदेन केही पनि छैन ।
तपाईँमाथि नैतिकताकै प्रश्न उठ्यो, अब के गर्नुहुन्छ ?
यसबारे त सार्वजनिक भएको अडियो र भिडियोले नै प्रष्ट पार्छ नि । त्यसमा मेरो कुनै आर्थिक लेनदेनको कुरा नै छैन, तपाईँहरू मिलेर जानुस् भनेर मैले भनेको कुरा प्रष्ट नै छ । मैले तपाईँहरू सबै जना हाम्रै मान्छे हो, मिलेर जानुस् भनेर प्रष्टसँग भनेको नै छु । त्यसकारण यहाँ नैतिकताको प्रश्न नै के हुन्छ र ? उहाँहरुको आपसी कारोबार हो । आपसी कारोबारमा केही विवाद आएपछि पार्टीको नेता र धेरै समयदेखि सहकार्य भएको नाताले लौ न मिलाइ दिनुपर्यो भनेर अनुरोध गरेपछि मैले मिल्नुस् भन्नेबाहेक त केही पनि भनेको छैन ।
उसो भए तपाईँलाई फसाउन यसो गरिएको हो त ?
प्रचार चाँहि सुनियोजित नै देखिन्छ । किनभने जुन भिडियो/अडियो सार्वजनिक भयो, त्यसले नै प्रष्ट पारेको छ । मैले थप प्रष्ट पारिरहनुपर्ने आवश्यकता नै देख्दिन ।
तपाईँको केही गल्ती छैन भने सुनियोजित काम कहाँबाट भयो त उसो भए ?
नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिमा अहिले भ्रष्टाचारको विरुद्धमा र आर्थिक स्वच्छताको पक्षमा सङ्घर्ष गरिरहेको छु । यस प्रकारको प्रहार गरेर त्यो सङ्घर्षलाई कमजोर बनाउन खोजिएको हो कि भन्ने लाग्छ । तर म त्यसबाट विचलित हुन्न ।
कमान सिंह लामाले निधन हुनुभन्दा केही समयअघि सामाजिक सञ्जालमार्फत केही कुरा भन्नुभएको रहेछ । तपाईँ लक्षित केही कुराहरु लेख्नुभएको रहेछ । तपाईँले पनि पढ्नुभयो होला । यसको जवाफ कसरी दिनुहुन्छ ?
निधन हुनुभन्दा अगाडि त्यति लामो स्टाटस उहाँ आफैले लेख्नुभयो होला र ! भन्ने पनि लाग्छ । तै पनि म फेरि भन्छु, वास्तविक कुरा कमरेड कमान सिंह लामाको हाइड्रोपावर प्रोजेक्टसँग केही विवाद भएको कुरा हो, अरु कुरामा म सम्बन्धित छैन ।
यसबारे बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि केही छलफल गर्नुभयो ? उहाँ र तपाईँबीच के–के कुरा भयो ?
कमरेड कमान सिंह लामाले यो कुरा कमरेड प्रचण्डसँग पनि राख्नुभएको थियो । लौ न हामीबीच केही विवाद छ मिलाइ दिनुपर्याे भनेर उहाँले प्रचण्डसँग भन्नु भएपछि प्रचण्ड स्वयंले हाइड्रोपावर प्रोजेक्टका साथीहरु र कमान सिंहजीलाई सँगै राखेर दुई/तीन पटक कुरा गर्नुभएको थियो । प्रचण्डलाई पनि यसबारे सबै थाहा भएकोले हामीबीच यो सुनियोजित प्रहार हो भन्ने निचोडमा पुग्यौँ । यसले हामीलाई खासै केही असर गर्दैन भनेर अध्यक्षज्यूले भन्नुभयो । आफ्नो कुनै गल्ती नै छैन भने म डराउनुपर्ने कुनै आवश्यकता पनि छैन ।
यसअघि नेकपाभित्रकै कृष्णबहादुर महरा, गोकुल बाँस्कोटाले अनुसन्धानमा सहयोग पुर्याउन भन्दै पदबाट राजीनामा दिनुभयो । अब तपाईँले त्यसो गर्ने कि नगर्ने ?
यो त्यस्तो विषय नै होइन । उहाँहरुले जसरी राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ भन्ने विषय नै छैन । यसमा मैले कसैसँग घुस लिएको, कमिसन लिन खोजेको अथवा मैले अरु कुनै कारोबार गरेको कुरा नै छैन भने मैले किन उहाँहरुले जसरी गर्नुपर्याे र ? दुई पक्षबीचमा तपाईँहरू मिल्नुस् भन्ने कुरा त गरेको हुँ । त्यो पनि उहाँहरूकै अनुरोधमा । कमरेड कमान सिंहको निधन भएको दुःखद घडीमा यसरी राजनीतिक प्रयोजनका लागि जुन प्रयोजन गरियो, मलाई असाध्यै दुःख लागेको छ ।
राष्ट्रिय सभाका सदस्य र नेकपाका प्रवक्ताबाट राजीनामा दिनुपर्छ भनेर पार्टीभित्रकै केही व्यक्तिहरुले कुरा उठाउन थालेका छन् । अब के गर्नुहुन्छ त ?
जुन सामग्री बोकेर उहाँहरुले प्रचार गरिरहनुभएको छ, त्यो सामग्रीले त केही पनि भन्दैन । बरु त्यसले पार्टीभित्रका दुई कमरेडलाई मिल्नको लागि मध्यस्थता गरेको मात्रै प्रष्ट हुन आयो । यो सुनियोजित प्रहारबाहेक केही पनि होइन । राजीनामा दिने भन्ने विषयको कुनै अर्थ छैन । यो कहाँबाट भयो म भन्दिनँ तर कुन उद्देश्यले भयो भन्नेबारे चाँहि प्रष्ट पारेँ । उज्यालो अनलाईन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया