काठमाण्डौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब कांग्रेसले सडकदेखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने बताएका छन् ।
सभापति देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ, भोलिको प्रदर्शन सांकेतिक मात्रै हो ।’
प्रतिपक्षीको थलो भनिएको संसद पाँच महिनादेखि बन्द जनताको पक्षमा आफ्नो आवाज बोल्न नसकेको कांग्रेसले सरकारका गलत गतिविधिका विरुद्ध सोमबार ७७ वटै जिल्लामा सडक प्रदर्शन गर्दैछ ।
सभापति देउवाले कोरोनाको संक्रमण फैलिन नदिन सचेतना अपनाएर सडक प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरी कायम राख्न र मास्क प्रयोग प्रभावकारी गराउन आग्रह गर्दछु ।’ सभापति देउवाले भनेका छन् ।
देउवाले मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको कांग्रेस अहिले प्रतिपक्षको हैसियतमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको दाबी गरेका छन् ।
‘प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसकारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, यो अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’
देउवाले ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको बताएका छन् ।
उनले सरकारले कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नबनाउँदा सयौंको मृत्यु भएको, हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको, ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बनेको बताएका छन् ।
उनले कांग्रेसले नेपाली जनताको हरेक क्षेत्र, बर्ग एवं समुदायको पीडा र भावनालाई अझ प्रखर ढंगले मुखरित गर्ने बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया