असार २२, २०८२ आइतबार July 6, 2025

पार्टीरूपी समुद्र छँदाछँदै गुटरूपी पोखरीमा पौडी खेलेर रमाउने गल्ती कसैले पनि गर्नुहुँदैन – विष्णु पौडेल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोनाले विश्व अर्थतन्त्रमा आगामी पाँच वर्षभित्र दुई सय ८० खर्ब अमेरिकी डलरबराबरको उत्पादन गुम्ने आकलन अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । विकसित मुलुक खासगरी जी–२० मुलुकले मात्रै आर्थिक पुनरुत्थानका लागि एक सय २० खर्ब खर्च गर्दै छन् । सम्पन, विपन्न देशले आ–आफ्नो योजना बनाएका छन् । नेपालले के योजना बनाउँदै छ ?

कोभिडको प्रभावविरुद्ध जुध्न विश्वभरका मुलुकहरूले आ–आफ्नै ढंगले योजना बनाएका छन्, आ–आफ्नै किसिमले प्रयोग गरेका छन् । हामीले पनि कोभिड प्रभावित नागरिकको राहत र आर्थिक पुनरुत्थान गर्न आफ्नै प्रकारको कार्यक्रम अघि सारेका छौँ । सरकारले यसअघि नै चार खर्ब रुपैयाँबराबरमा राहत तथा पुनरुत्थानका प्याकेजहरू विभिन्न शीर्षकमा ल्याएको छ । अतिप्रभावित नागरिकलाई राहत प्रदान गर्न तथा अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन घोषणा गरिएका कार्यक्रमले मद्दत पुर्याउँछन् भन्ने हाम्रो विश्लेषण छ ।

लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रूपमा बन्द भएको, उत्पादन ७३.८ प्रतिशत घटेको राष्ट्र बैंकको अध्ययनले देखाएको थियो । हालै गरिएको नयाँ सर्वेक्षणले पनि करिब ४८ प्रतिशत क्षमतामा मात्रै उद्योग व्यवसाय चलेका छन् भन्ने देखाएको छ । अर्थतन्त्र यस्तो जटिल अवस्थामा हुँदा पनि चालू आर्थिक वर्षको बजेटले पुनरुत्थानमा खास ध्यान दिएको देखिन्न । आर्थिक पुनरुत्थानको विषयलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

दुईवटा तथ्यतर्फ यहाँको ध्यानाकर्षण गर्न चाहन्छु । तपाईंले भनेजस्तै राष्ट्र बैंकले जेठ महिनासम्मको तथ्यांक लिएर गरेको अध्ययनले लकडाउन कायमै रहेको अवस्थामा ६१ प्रतिशत उद्योग बन्द थिए । तर, अहिले भर्खरै भएको अध्ययनमा करिब ८ प्रतिशत उद्योग मात्रै पूर्ण बन्द अवस्थामा छन् । यसको अर्थ अधिकांश उद्योग सञ्चालनमा आउन थालेका छन् । हामी यो ८ प्रतिशतलाई पनि कम गर्दै सम्पूर्ण उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिइरहेका छौँ । पर्यटन, यातायात, सेवा उद्योगलगायत सबै क्षेत्रलाई सुचारु गर्ने तयारीमा हामी छौँ । त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँछ र आर्थिक पुनरुत्थानलाई मद्दत गर्नेछ ।

राष्ट्र बैंककै अध्ययनले साढे २२ प्रतिशत कर्मचारी कामदारले कोरोनाका कारण रोजगारी गुमाएको देखाएको थियो । आइएलओले ३७ लाख कामदार कोरोनाका कारण प्र्रभावित भएको देखायो । संसारका अधिकांश मुलुकले यसरी प्रभावित हुने निम्न आयवर्गका जनतालाई सीधै नगद सहयोग गरेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई करिब–करिब बेवास्ता नै गरेको छ । यो वर्गलाई राहत दिने थप योजना केही छ कि ?

हामीले श्रमिक तथा बेरोजगार वर्गलाई राहत प्रदान गर्न विभिन्न प्याकेज सञ्चालन गरेका थियौँ । विशेषगरी, स्थानीय सरकारहरूमार्फत तात्कालिक रूपमा राहतका प्याकेजहरू सञ्चालन गरेका थियौँ । त्यसका अतिरिक्त रोजगारी गुमाएका श्रमिकलाई उद्यम तथा रोजगारीसँग जोडेर लैजाने सन्दर्भमा पनि वित्तीय तथा मौद्रिक नीतिमार्फत प्रयासहरू भएका छन् । कमजोर अवस्थामा नागरिक, जसको वित्तीय पहुँच पनि कमजोर छ, उनीहरूलाई पनि वित्तीय सहयोग पुर्‍याउनेतर्फ पनि हामी काम गर्दै छौँ । त्यस्तै, लघुवित्तको पहुँचमा रहेका नागरिकले राहत पाऊन् भनेर हामीले लघुवित्तको ब्याजदरमा पनि छुट प्रदान गर्ने नीति अघि सारेका छौँ । यसरी विपन्नभन्दा विपन्न वर्गलाई वित्तीय पहुँचमा पुर्‍याउने दिशातर्फ हामी अघि बढेका छौँ, जसमार्फत उनीहरू कुनै न कुनै हिसाबले रोजगारी वा स्वरोजगारमा आबद्ध हुन सकून् र उनीहरूको आर्थिक क्रियाकलाप सुचारु हुन सकोस् ।

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले जे–जति पुनरुत्थानका प्याकेज ल्यायो, ती वित्तीय प्रणालीमार्फत मात्रै प्रवाह हुने किसिमले आए । खासगरी, यसमा नेपाल राष्ट्र बैंकले जे काम गरेको छ, त्यसले वित्तीय बजारमा प्रशस्त तरलता प्रवाह भएको छ, ब्याजदर पनि घटेको छ । तर, राष्ट्र बैंकले ल्याएका नीतिमार्फत पनि वित्तीय पहुँच नभएका किसान, स्वरोजगार र साना व्यवसायीले लाभ पाएका छैनन् । वित्तीय पहुँच नै नभएका जनताको समस्या समाधान गर्न के गर्दै हुनुहुन्छ ?

हामी पुनर्कर्जा, सहुलियतपूर्ण कर्जामार्फत अर्थतन्त्रलाई चलायमान गर्न प्रयासरत छौँ । मैले अघि नै भनेँ, लघुवित्तका माध्यमबाट सहुलियतपूर्ण कर्जा दिँदै ती वर्गमा पुग्दै छौँ । यसरी २८ लाखभन्दा बढी जनतालाई राहत दिन सकिन्छ भन्ने हाम्रो प्रक्षेपण छ । राहतकै सन्दर्भमा कुरा गर्दा हामीले आमसर्वसाधारणलाई रोजगारीमा आबद्ध गर्ने विभिन्न कार्यक्रम अघि सारेका छौँ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनि बेरोजगार नागरिकहरूलाई रोजगारीमा आबद्ध गरिँदै छ । कोभिड–१९ ले असर गरेको यो वेला प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको सूचीमा नाम लेखाउनेको संख्या सात लाखको आसपास पुगेको छ । यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै थप रोजगारी वृद्धि गर्ने योजना हामीले अघि सारेका छौँ ।

कोरोनापछिको आर्थिक पुनरुत्थानका लागि पूरक बजेट ल्याउनुपर्ने धारणा बौद्धिक वृत्तबाट पनि आएको छ । त्यस विषयमा तपाईंको धारणा के हो ?

हामी अहिले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षाको नजिकमा पुगेका छौँ । यो बजेट पनि कोभिडकै बीचमा आएको हो । कोभिडका असरबारे एक हदसम्म आकलन र पूर्वानुमान बजेटले गरेकै छ, तिनलाई सम्बोधन गर्ने काम भएकै छ । त्यसकारण हाम्रो पहिलो प्राथमिकता बजेटको प्रभावकारी कार्यान्वयनमा हुन्छ । बेरोजगारलाई रोजगारीमा आबद्ध गर्ने, आर्थिक गतिविधिलाई गतिशील तुल्याउने, पुनरुत्थानका माध्यमबाट शिथिलतालाई तोड्नेलगायतका प्रयास जारी नै रहन्छन् । तर, हामीले बजेटको मध्यावधि समीक्षा गर्दा त्यसको निष्कर्षका आधारमा हामी कसरी अघि बढ्ने भन्ने कुराको निक्र्याेल गर्छौं । बजेटले गरेका प्रबन्धहरूलाई कार्यान्वयन गर्न सक्यौँ र राहत र पुनरुत्थानका विषयमा अन्य केही अत्यावश्यक निर्णय हामीले गर्न सक्यौँ भने पूरक बजेटको आवश्यकता नपर्न पनि सक्छ । यद्यपि, मध्यावधि समीक्षाको निष्कर्षका आधारमा मात्रै यस विषयमा आधिकारिक रूपमा केही भन्न सक्ने अवस्थामा हुन्छु ।

यस्तो संकटको वर्ष पनि सरकारले ल्याएको बजेटले ७ प्रतिशत आर्थिक वृद्धि हुने आकलन गरेको छ । तर, सामान्य अवस्थामा पनि पुँजीगत बजेट खर्च हुन नसक्ने विडम्बना हामीसामु छ । ७० देखि ८० प्रतिशत पुँजीगत खर्च हुन सक्यो भने अर्थमन्त्रीहरू खुसी हुने परम्परा नै बनिसक्यो । यसलाई सम्बोधन गर्न के योजना छ ?

पुँजीगत खर्चमा जुन किसिमको चुनौती सिर्जना भएको छ, त्यसमा सशक्त हस्तक्षेपको आवश्यकता छ । औसत प्रयासबाट पुँजीगत खर्चको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दैनौँ । त्यसकारणले हामी दुई–तीनवटा विषयमा केन्द्रित हुन चाहिरहेका छौँ । पुँजीगत खर्चका सन्दर्भमा आयोजना प्रमुख, पदाधिकारी तथा सम्बन्धित मन्त्रालयहरूलाई उत्तरदायी बनाउने काम हुँदै छ । त्यस हिसाबले मूल्यांकन प्रणाली विकास गर्ने तयारी छ । पुँजीगत खर्चको मूल्यांकन कुनै पनि व्यक्ति वा संस्थाको मूल्यांकनका आधार हुनुपर्छ भन्ने मान्यतालाई आमी स्थापित गर्न खोज्दै छौँ । दोस्रो, तयारी र कार्यान्वयन दुवै चरणमा आयोजनालाई व्यवस्थित बनाउनुपर्छ । तयारीको सम्पूर्ण काम सम्पन्न गरेपछि मात्रै निर्माणको चरणमा प्रवेश गर्नुपर्छ, निर्माण आरम्भ भएपछि सम्पन्न हुने समयसम्मको योजनाबद्ध कार्यतालिका प्रस्तुत गर्नुपर्छ । र, त्यसलाई अनुसरण गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ । तयारीको काम राम्रो हुन सक्यो भने कार्यान्वयनलाई गतिका साथ अघि बढाउन सकिन्छ । त्यस अर्थमा पुँजीगत खर्चमा जुन समस्या देखिएको छ, त्यसमा केन्द्रित रहेर विभिन्न मन्त्रालयहरूसँग हामी छलफल गरिरहेका छौँ । सम्बन्धित मन्त्रालयले पुँजीगत खर्च कसरी गरिहेका छन्, त्यसबीचमा कस्ता समस्या आएका छन् ? ती समस्या समाधान गर्न के कस्ता प्रयास भएका छन् ? र, अर्थ मन्त्रालयका तर्फबाट के कस्ता सहयोग र सहजीकरणको आवश्यकता छ भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ । अर्थ मन्त्रालयले यसरी सामूहिक छलफलका माध्यमबाट पुँजीगत खर्चमा देखा परेका समस्याको समाधान गर्दै खर्चमा तीव्रता ल्याउने प्रयास गर्छ । चालू आर्थिक वर्षको हालसम्म १८ दशमलव ६ प्रतिशत पुँजीगत खर्च भएको छ । यो गत वर्षको तुलनामा सकारात्मक छ । तर, हामी यसमा सन्तुष्ट भएर बस्न सक्दैनौँ ।

तर, उता राजस्व संकलनमा कमी भइरहेको छ । वैदेशिक अनुदान निश्चित रूपमा घट्नेछ । सरकारका दैनिक दायित्व पूर्तिदेखि विकास निर्माणका गतिविधि अघि बढाउन स्रोतको व्यवस्थापनलाई कसरी हेर्नुभएको छ ?

स्रोत व्यवस्थापनका दुई–तीनवटा पाटा छन् । पहिलो, राजस्व संकलनको सन्दर्भमा राजस्व प्रशासनलाई अत्यन्तै अनुशासित, मर्यादित, जिम्मेवार र कार्यकुशल बनाउने ढंगले परिचालन गर्न चाहिरहेको छु । त्यस हिसाबले काम गर्दा आर्थिक वर्षको अन्त्यसम्ममा राजस्वका लक्ष्यहरू पूरा हुन सक्छन् भन्ने अपेक्षा छ । पछिल्ला दिनको कार्यप्रगतिका आधारमा आर्थिक वर्षको अन्त्यसम्ममा राजस्वको लक्ष्य पूरा गर्न सकिन्छ वा निकै नजिक पुगिन्छ भन्नेमा विश्वस्त छु । दोस्रो, अन्तर्राष्ट्रिय ऋण र अनुदानका सन्दर्भमा एउटा सीमाभित्र रहेर हामीले बजेटमा प्रक्षेपण गरेका छौँ, त्यो प्रक्षेपणअनुसार नै वैदेशिक सहयोग प्राप्त गर्न सक्ने अवस्थामा छौँ । यसरी स्रोतको व्यवस्थापनका पक्षमा राजस्व र अन्तर्राष्ट्रिय सहयोगका माध्यमबाट बजेटले निर्धारित गरेका लक्ष्यहरू प्राप्त गर्न सक्छौँ भन्ने मेरो आत्मविश्वास छ ।

सार्वजनिक खर्च कटौती गर्नुपर्ने विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै तपाईंले मितव्ययितासम्बन्धी कार्यविधि ल्याउनुभयो । तर, मन्त्रालयको संख्या र कर्मचारीतन्त्रको आकार घटाउने मात्र होइन, अनावश्यक सरकारी कार्यालयहरू हटाउने र बजेट खर्चको प्रणालीमै आधारभूत रूपमै सुधार गर्नुपर्ने सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझाबलाई सरकारले त्यति ध्यान दिएको छैन । यसमा के भन्नुहुन्छ ?

सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएका सुझाबहरू कतिपय तात्कालिक महत्वका छन्, कतिपय दीर्घकालीन महत्वका । अहिले कोभिडले पारेको प्रभावलाई दृष्टिगत गरेर तत्कालै मितव्ययिता र खर्च कटौतीका सन्दर्भमा के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर हामीले मितव्ययितासम्बन्धी कार्यविधि पारित गरेका हौँ । दीर्घकालीन रूपमा सोच्नुपर्ने विषयहरूलाई बिस्तारै सम्बोधन गर्दै जाने नीति सरकारको छ ।

तपाईं अर्थमन्त्री भएपछि मुलुकको सेयरबजार निरन्तरजस्तै बढ्दो क्रममा छ । मुलुकमा अहिले अन्य क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरू निश्चिन्त नभएको तर वित्तीय प्रणालीमा प्रशस्त तरलता रहेको अवस्थाले गर्दा पनि स्टक मार्केटमा सो पैसा स्वाभाविक रूपमा नै आएको देखिन्छ । खासगरी, नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा र धितोपत्र बोर्डको विज्ञप्तिका कारण बजार प्रभावित बनेको आरोप पनि लागेको छ । तपाईंले चाहिँ यो अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ ?

अहिले सेयरबजारमा उत्साह आउनु सरकारप्रतिको विश्वासको अभिव्यक्ति हो भन्ने मलाई लाग्छ । तरलतालगायत अन्य विषयले पनि यसमा प्रभाव पारेको होला । तर, मूलतः यो सरकारप्रतिकै विश्वास हो । दोस्रो, सेयरबजारसँग सम्बन्धित लगानीकर्ता र सरोरकारवालालाई म के आग्रह गर्न चाहन्छु भने अत्यन्तै जिम्मेवारीपूर्वक, अनुशासित र मर्यादित ढंगले आफ्ना कारोबारलाई अघि बढाउनुस् । तपाईंले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको चर्चा गर्नुभयो । मौद्रिक नीतिको मनसाय सेयरबजारमा अनुचित ढंगले नियन्त्रण गर्ने भन्ने होइन । स्वाभाविक रूपमा यस बजारमा पारदर्शिता होस्, यसका वैधानिक प्रबन्धका सीमाभित्र रहेर कारोबार हुन् भन्ने मनसाय यसमा छ जस्तो मलाई लाग्छ ।

कोरोना बिमा गर्ने जनताले दाबी भुक्तानी समयमा नपाएको समस्यालाई समाधान गर्न तपाईं आफैँले अग्रसरता लिनुभयो । जसलाई सबैले प्रशंसा पनि गरे । तर, प्रणालीले राम्रोसँग काम गरेको अवस्थामा त्यो मन्त्रीको स्तरमा आउनुपर्ने समस्या नै होइन । अझ, तपाईंकै पहल हुँदा पनि कोरोना बिमाको भुक्तानी अपेक्षित रूपमा हुन सकेको छैन । यसलाई कसरी हेर्नुभएको छ ?

यहाँले भनेजस्तै यो मन्त्रीको तहबाट ध्यान दिनुपर्ने विषय थिएन । तर, जसरी नागरिकले बिमा दाबी रकम नपाउने अवस्था देखियो, त्यसपछि निश्चित रूपमा मेरो ध्यानाकर्षण भयो र त्यसमा आवश्यक निर्देशन दिएको हुँ । मैले लिएको पछिल्लो तथ्यांकअनुसार कोरोना बिमाको दाबी भुक्तानीमा उल्लेख्य प्रगति भएको छ । यद्यपि, जे जति प्रगति भएको छ, त्यससँग म आफैँ पनि सन्तुष्ट छैन । र, दाबी गर्नेहरूले निश्चित सीमाभित्र भुक्तानी पाउनुपर्यो भन्ने निर्देशन मैले निरन्तर दिइरहेको छु । यसमा कुनै पनि प्रकारको सम्झौता हुँदैन ।

कोरोनाको कारणका अतिरिक्त विगतमा सरकारले लिएका केही नीति र व्यवहारका कारण पनि लगानीकर्ताको मनोबल असाध्यै घटेको छ । यस्तो अवस्थामा नयाँ लगानी आकर्षित गर्न के योजना छन् ?

म लगानीकर्तालाई के आग्रह गर्न चाहन्छु भने कोरोनाले विश्वव्यापी रूपमा प्रभाव पारेको छ, हामी पनि प्रभावित छौँ, त्यसलाई मिलेर परास्त गर्नु छ । लगानीका सन्दर्भमा अहिलेसम्म सरकारले निर्माण गरेका नीति, प्रणाली तथा विधिका विषयमा लगानीकर्ताहरू जानकार नै हुनुहुन्छ । लगानीको अनुकूल वातावरण निर्माण गर्न सरकारले थप के गर्नुपर्ने हो, त्यसमा छलफल गर्न सरकार सधैँ तयार छ । त्यसो हुँदा लगानीतर्फ उत्साहित हुनुस् भन्ने मेरो आग्रह छ ।

अब केही राजनीतिक विषयमा कुरा गरौँ, तपाईंले नै पहिलोपटक केही समयअगाडि नेकपाको एकीकृत भविष्य संकटमा परेको सार्वजनिक गर्नुभएको थियो । अवस्था त्यही वेलाको जस्तो स्थिर छ, सुधार भएको छ कि थप बिग्रिएको छ ?

नेकपाको आन्तरिक जीवन समस्यामुक्त हुन सकेको छैन । नेकपाको आन्तरिक जीवनमा समस्या छन्, कतिपय गम्भीर प्रकारका समस्या पनि छन् । यो यथार्थलाई मैले लुकाउनुपर्ने आवश्यकता छैन ।

यसको अर्थ समस्या अझै गहिरिएको छ ?

मैले त्यसरी तुलना गर्नेभन्दा पनि पार्टीभित्र देखिनुनपर्ने किसिमका समस्या देखिएका छन् । र, यसले खासगरी नेकपाको आन्तरिक जीवन समस्याग्रस्त बनेको छ । यसको प्रभाव राष्ट्रिय राजनीतिमा पनि परेको छ ।

विवाद समाधानका लागि अनौपचारिक छलफल गर्न तपाईंकै प्रस्तावमा स्थायी कमिटी बैठक एक सातापछाडि सरेको छ, यसबीचमा केही प्रगति भएको छ ?

प्रगति नै त म भन्दिनँ, तर औपचारिक वा अनौपचारिक संवाद र छलफलका शृंखलाहरू चलेका छन् । अध्यक्षद्वयकै तहमा पनि छलफल भएको छ, अन्य नेताहरूको तहमा पनि छलफल भएको छ । स्थायी कमिटीकै जिम्मेवार साथीहरू पनि आपसी छलफलमा हुनुहुन्छ । छलफलका अनेकन शृंखला चलेका छन् र समस्या समाधानका प्रयास भएका छन् ।

तपाईंले भनेका कतिपय छलफल दुई पक्षबीच पनि भएका छन् । तर, यहीवेला नेकपामा विभिन्न गुटका भेला पनि भइरहेका छन् । यसले त विवाद समाधानका लागि भन्दा बढाउनका लागि बैठकको समय लम्ब्याए जस्तो देखिन्छ नि ?

पार्टीलाई बिर्सेर गुट याद गर्ने मानसिकता कम्युनिस्ट आन्दोलनमा वेलावेलामा देखा पर्ने गरेको छ । यो गुटबन्दीको महारोगले हाम्रो आन्दोलन वेलावेलामा गम्भीर रूपमा प्रभावित पनि हुने गरेको छ । म के आग्रह गर्न चाहन्छु भने पार्टीको विकल्प गुट यसअघि पनि कहिल्यै भएन र अब पनि हुनेछैन । पार्टीरूपी समुद्र छँदाछँदै गुटरूपी पोखरीमा पौडी खेलेर रमाउने गल्ती कसैले पनि गर्नुहुँदैन । त्यसो नगर्नुस् भन्ने मेरो आग्रह हो ।

विवाद समाधानका लागि कार्यदल बनाउन सकिने तपाईंको प्रस्ताव थियो । तर, शीर्ष नेताबीच भएका पटक–पटकको छलफलले हल नगरेको विषय उनीहरूको आशीर्वाद नपाईकन त्यस्तो कार्यदलले समाधान गर्न सक्ला त ?

हाम्रो निकट विगतकै अनुभव हेर्नुहुन्छ भने शीर्ष नेतृत्व तहमा समाधान नभएका विषयमा कार्यदल बनाएर समाधान गरेका छौँ । अघिल्लोपटक हामीले भदौ २६ गते ऐतिहासिक महइभ्वको निर्णय गर्‍यौँ । त्यो निर्णयको पृष्ठभूमिमा हेर्दा नेताहरूको बीचमा जुन किसिमको समस्या भयो, त्यो समाधान गर्न एउटा कार्यदल बन्यो । ६ सदस्यीय सो कार्यदलको नेतृत्व मैले नै गरेको थिएँ । कार्यदलले सघन छलफल गरेर एउटा प्रस्ताव तयार ग¥यो । कार्यदलको प्रस्तावलाई नै स्थायी समितिले पारित गर्‍यो, अर्थात् कार्यदलको प्रस्ताव नै निर्णयमा बदलिएको थियो । त्यसो हुँदा नेताहरूको तहमा समाधान नभएको विषय त्यसभन्दा तल्लो तहबाट समाधान हुँदैन भन्ने होइन । त्यो हुन सक्छ । यो पार्टीको भविष्यप्रति र पार्टीका माध्यमबाट देश र जनताको भविष्यप्रति पार्टीका तमाम नेता तथा कार्यकर्तालाई चिन्ता छ । त्यो तहको चिन्ता, चासो र संगठित पहलले नै पार्टीका चुनौतीपूर्ण समस्याहरू समाधान गर्न सक्छ भन्ने मलाई लाग्छ ।

संवाद र गुटका भेलाको शृंखला त छँदै छन्, त्यसमाथि अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमै आउँदिनँ भन्ने अर्का अध्यक्ष तथा प्रधानमन्त्रीको अडान छ । २८ मंसिरको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री सहभागी हुनुहुन्छ कि हुनुहुन्न ?

यसअघि बसेको पार्टीको स्थायी समितिको बैठकको कार्यसूची ‘पार्टीको आन्तरिक समस्या’ थियो । हामीले कुनै प्रतिवेदन वा कसैका प्रस्तावलाई बैठकको कार्यसूची नै बनाएका छैनौँ । पार्टीको आन्तरिक समस्यामा छलफल गर्ने कार्यसूची छ । पार्टीको आन्तरिक समस्याका बारेमा एउटा अध्यक्षको एक खालको विश्लेषण होला, अर्को अध्यक्षको अर्को विश्लेषण होला, अन्य पदाधिकारी तथा स्थायी समितिका सदस्यहरूको पनि फरक–फरक धारणा होलान् । पार्टी किन यो तहको समस्यामा आइपुग्यो भन्ने विषयमा सबैका फरक–फरक धारणा हुन सक्छन्, त्यो बैठकमा प्रस्तुत गर्न पाइन्छ । तर, फेरि पनि म भन्छु, अहिले जारी स्थायी समितिको एजेन्डा ‘पार्टीको आन्तरिक जीवनमा उत्पन्न समस्या’का बारेमा हामी सबैले आफूलाई लागेका कुरा राख्छौँ । त्यहाँ कोही अलग्गै नेताको प्रस्तावलाई एजेन्डा बनाएका छैनौँ ।

तपाईंको आशय प्रधानमन्त्री स्थायी समिति बैठकमा आउनुहुन्छ भन्ने हो ?

प्रधानमन्त्री बैठकमा आउनुहुन्न भन्ने मलाई लाग्दैन । हामीले कार्यसूची नै त्यसरी तय गरिसकेका छौँ भने प्रधानमन्त्री बैठकमा नआउनुपर्ने कारण छैन ।

प्रचण्ड–माधव समूहले विवाद समाधानमा सहमति नभए बहुमत–अल्पमतबाट निर्णय लिने अधिकार पार्टी कमिटीलाई छ भनेको छ । प्रधानममन्त्रीले बहुमतको निर्णय अहिले लागू हुन सक्दैन भन्नुभएको छ । यस्तोमा नेकपा विवाद बहुमत–अल्पमतमा प्रवेश गर्ने सम्भावना कत्तिको छ ?

यहाँ स्पष्ट कुरा के हो भने हामीले पार्टी एकता गर्दा अर्को महाधिवेशनसम्मका लागि भनेर संक्रमणकालीन वैधानिक व्यवस्था गरेका छौँ । हाम्रो अहिलेको विधान संक्रमणकालीन विधान हो । महाधिवेशनले पारित गर्ने विधानले यो विधानलाई प्रतिस्थापन गर्नेछ । यो संक्रमणकालीन विधानमा हामीले केही महइभ्वपूर्ण प्रावधानहरू राखेका छौँ । खासगरी, हामी एकताको नयाँ प्रक्रियाबाट अघि बढ्यौँ, यो प्रक्रियालाई पूर्णता दिँदै महाधिवेशनमा जान्छौँ र त्यहीँबाट नीति, विधि र नेतृत्वको नयाँ प्रबन्ध गरेर अघि बढ्छौँ भन्ने हाम्रो ठम्याइ हो । महाधिवेशनसम्म सहमतिका साथ काम गर्छौं, सहमतिका साथ निर्णय गर्छौं भन्ने नै हाम्रो अहिलेको विधानको प्रबन्ध हो । एकता प्रक्रियालाई पूर्णतामा पुर्‍याउन तथा पार्टीको एकताबद्ध अस्तित्वलाई अविच्छिन्न रूपमा अघि बढाउन त्यो व्यवस्था गरिएको हो । यसकारणले विधानको त्यो प्रबन्धलाई हेक्का राखेर हामी सबैले चल्नुपर्छ ।

विधानको मर्म एउटा भयो । तर, साँच्चै नै पार्टीमा बहुमत–अल्पमतबाट निर्णय भयो भने चाहिँ के हुन्छ ?

पार्टीको स्थायी कमिटी तथा केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूको मनस्थितिलाई मैले जुन हदसम्म बुझेको छु, त्यसका आधारमा म के भन्न सक्छु भने नेपाल कम्युनिस्ट पार्टी जटिल र कठिन मोडमा आइपुगेको भए पनि नेता–कार्यकर्ताको सामूहिक पहलमा हामी यो समस्यालाई समाधान गर्छौं । मलाई लाग्छ, मतदान गर्ने वा बहुमत–अल्पमतको अभ्यास गर्ने परिस्थिति नै पार्टीमा आउँदैन ।

तर, महाधिवेशनबाट पार्टीको र चुनावपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने प्रधानमन्त्रीको अडान छ । तर, अर्को समूहले पार्टी कमिटीले यसको निर्णय गर्छ किनकि पहिले पनि गरेको छ भन्ने छ । यी दुई अडानबीच सहमतिको बिन्दुचाहिँ के हुन सक्छ ?

स्थायी समितिको २६ भदौको बैठकबाट हामीले जुन निर्णय गरेका थियौँ, ती निर्णयको प्रभावकारी कार्यान्वयन नै अहिलेको समस्याको समाधान हो । हामीले ती निर्णयको कार्यान्वयन हुन नपाउँदै नयाँ समस्या सिर्जना भएका छन् । त्यस्ता नयाँ समस्यामा हामी अल्झिनु वा बल्झिनु आवश्यक थिएन । त्यसैले यसअघि स्थायी समितिले जे निर्णय गरेको छ, त्यसैको प्रभावकारी कार्यान्वयनद्वारा यो समस्याको समाधान गर्ने हो । किनकि, भदौ २६ को निर्णयले पार्टीका समस्याको विवेचना पनि गरेको छ, कारणहरूको उत्खनन पनि गरेको छ । र, समाधानका उपायहरू पनि त्यसले अघि सारेको छ । त्यो पनि निर्णयकै रूपमा अघि सारेको छ । त्यसैले २६ भदौको बैठकका निर्णयको प्रभावकारी कार्यान्वयन नै पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याको समाधान गर्ने सबैभन्दा उत्तम उपाय हो ।

यहीबीचमा केही दिनमा संसद् अधिवेशन बोलाउनुपर्ने अवस्था छ । नेकपा विवाद संसद्मा प्रवेश गर्‍यो भने थप जटिलता निम्तिने सम्भावना छ नि ?

नेकपाको विवाद संसद्मा प्रवेश गर्छ भन्ने मलाई लाग्दैन । किनभने, जनताबाट निर्वाचित भएर विधायिकामा प्रतिनिधित्व गर्ने सांसदहरू जिम्मेवारीपूर्वक नै प्रस्तुत हुनुहुन्छ भन्ने मलाई लाग्छ । त्यसैले नेकपाको विवाद संसद्मा प्रवेश गर्दैन, उपयुक्त प्लेटफर्ममा छलफल हुन्छ, उपयुक्त निर्णय गरेर नेकपा अघि बढ्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार