असार २१, २०८२ शनिबार July 5, 2025

प्रतिनिधिसभाले कार्यपालिकालाई सधैं सहयोग गरेको छः सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको बताउनुभएको छ ।

अन्तरपार्टी महिला सञ्जालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारको काममा प्रतिनिधिसभाले सँधैं सहयोग गरेको र कुनै पनि अवरोध नभएको स्पष्ट पार्नुभयो । सभामुख सापकोटाले भन्नुभयो, “सरकारको नीति तथा कार्य होस् वा बजेट पास गर्ने विषयमा प्रतिनिधिसभाले सहयोग गरेको छ ।

कार्यपालिकालाई पूर्ण रुपमा सहयोग नै गरिएको छ । कुनै पनि असहयोग भएको छैन ।” पछिल्लो पटक प्रतिनिधिसभा विघटनका सम्बन्धमा पनि आफ्नो तर्फबाट विज्ञप्तिमार्फत पनि अवस्थाको बारेमा जानकारी गराएको र सर्वोच्च अदालतमा स्पष्ट रुपमा आफ्नो धारणा पठाएको उहाँको भनाइ छ ।

सभामुखको हैसियतले के गर्न सकिन्छ भन्ने बारेमा आफूले गम्भीरतापूर्वक चिन्तन मनन गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभाको सञ्चालनमा अवरोध आएको उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज तथा सरोकार भएका व्यक्ति वा निकायले प्रकट गरेको विश्वासलाई आफूले सम्मान गर्ने बताउनुभयो ।

अन्तरपार्टी महिला सञ्जालले नेपालको संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी कुनै पनि प्रावधान नभएको भन्दै संवैधानिक र कानूनी आधार बिना गरिएको विघटन आफूहरुलाई मान्य नभएको उल्लेख गरेको छ ।

नेपालको संसदीय प्रणाली मौलिक विशेषता सहितको भएको स्पष्ट पार्दै सञ्जालले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्न सभामुखलाई आग्रह गरेको छ । सञ्जालका अध्यक्ष सावित्रा भुसाललको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया