श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पञ्चेबाजा संरक्षणका लागि वडाद्वारा बाजा हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिँदै वडाले बाजा हस्तान्तरण गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं ७ ले विवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने लोपोन्मुख पञ्चेबाजा संरक्षण कार्यक्रमअन्तर्गत गह्रौँकालिका पञ्चेबाजा समूह पैदीलाई १० थान बाजा हस्तान्तरण गरेको हो ।

आफूहरुले बजाउँदै आएको बाजा पुरानो तथा बाजा अपुग भई समस्या भइरहेका बेला वडा कार्यालयले बाजा संरक्षणका लागि एक लाख ३० हजारको लागतमा १० थान बाजा खरीद गरी हस्तान्तरण गरेको वडाध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो । “गह्रौँकालिका पञ्चेबाजा समूहले वडा कार्यालयमा बाजाको माग गर्नुभएकाले वडाले बाजा संरक्षण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी सहयोग गरेका हौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस् र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँपुस्तामा हस्तान्तरण गर्नुका साथै व्यावसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

वडामा रहेका अन्य बाजा समूहलाई आवश्यक सीप तथा तालीम, आवश्यक पोशाक हस्तान्तरण गरिएको र आगामी दिनमा पनि बाजा संरक्षणका कार्यक्रम सञ्चालन गर्दै लगिने वडा अध्यक्ष थापाले बताउनुभयो ।

वडाको बजेटबाट सहनाइ, ट्याम्को, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमती पञ्चेबाजा हस्तान्तरण गरिएको हो । “पछिल्लो समय विदेशी कलासंस्कृति र रीतिरिवाजको नक्कलका कारण नेपाली कलासंस्कृतिमाथि असर गरिरहेको छ”, वडाध्यक्ष थापाले भन्नुभयो, “हाम्रो कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व ठानेर बाजा हस्तान्तरण गरेका हौँ ।”

पुराना कलासंस्कृति हराउन नदिनका लागि वडा कार्यालयले नौमती बाजा उपलब्ध गराएर सहयोग गरेको समूहका अध्यक्ष कमल परियारले बताउनुभयो । “पुरानो पुस्ताको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि समूहमार्फत युवालाई सक्रिय बनाएर सीप सिकाइएको छ”, अध्यक्ष परियारले भन्नुभयो, “यहाँका युवाले विभिन्न मेला महोत्सव, धार्मिक तथा अन्य कार्यमा सहभागी भई बाजा बजाउँदै आएका छन् ।” कलासंस्कृतिको संरक्षणमा यो समूह तथा टोलका १६ घरपरिवारको सामूहिक प्रतिबद्धतासँगै सहकार्य रहेको अध्यक्ष परियारले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार