काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे आफ्नो दाबी पेश गरेको छ ।
नेकपाका दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङ, लिलामणी पोखरेल, भिम रावल, वेदुराम भुषाल, घनश्याम भुसाल, वर्षमान पुन लगायतका नेताहरु केहीबेरअघि आयोगको कार्यालय पुगेर पुनःदाबी पेश गरेका हुन् ।
सोमवार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले दल दावी गर्ने निर्णय गरसँगै प्रचण्ड–नेपाल दलबलसहित आयोग पुगेको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न दाबीसहितको पत्र, बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरलगायतको कागजपत्र आयोगमा बुझाइएको नेता देव गुरुङले जानकारी दिए ।
यो समूहले नेकपा फुटिसकेको र आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्दै आइरहेको छ । प्रचण्ड–नेपाल समूहले आफुहरुसँग ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय भन्दा बढी रहेको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटनको निर्णयसँगै नेकपामा विभाजन देखिएको छ। प्रचण्ड–माधव समूहले ओलीलाई पार्टीको अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयनसमेत गरेको थियो। त्यस अघि ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको थियो। तर आयोगले दुवै समूहको दाबीलाई अस्विकार गरेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया