असार २८, २०८२ शनिबार July 12, 2025

लिखित जवाफ माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वोच्च अदालतमा संवैधानिक आयोगमा गरिएका पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गर्दै संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीको काम कारवाही रोक्न अस्वीकार गरेको हो ।

अदालतले संवैधानिक निकायमा नियुक्त भएका ३४ जना पदाधिकारीलाई काम गर्न नरोक्ने आदेश जारी गर्दै उक्त मुद्दालाई अग्राधिकार दिएको छ ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय, संवैधानिक परिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई शुक्रबार दायर गर्नुभएको रिट निवेदनमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति, शपथ तथा पदभार ग्रहणसमेतका सम्पूर्ण निर्णय, पत्र कार्यहरु उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको थियो ।

रिट निवेदनमा गैरसंवैधानिक र गैरकानूनीरूपमा नियुक्ति भएको उल्लेख गर्दै यस्ता पदाधिकारीहरुबाट हुने निर्णय तथा कार्यले मुलुक र जनता, राष्ट्रकै हक अधिकारबारेमा प्रतिकूल असर पर्नेसमेत भएकाले निजहरुलाई आफू नियुक्त भएको पदको हैसियतले कुनै निर्णय कार्य नगर्नु÷नगराउनु यथास्थितिमै रहनु भनी अन्तरिम आदेशको माग गरिएको थियो ।

सर्वोच्च अदालतले संवैधानिक आयोगमा भएको नियुक्तिको सोही प्रकृतिको मुद्दामा शुक्रबार कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिबारे कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र संवैधानिक परिषद्सँग लिखित जवाफ माग गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया