श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अयोध्याधाम बनाउन राम र सीताको मूर्ति तयार, स्थानीय तयारीमा जुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवनको माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको बताउनुभयो ।

उहाँले हनुमान र लक्ष्मणको बन्दै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ । दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ ।” नेता विष्टले आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना रहेको जानकारी दिनुभयो । माडीका स्थानीय नेतासँगको भेटमा प्रधानमन्त्रीले आफैँ तयारी अवस्थामा रहेको राम र सीताको मूर्ति देखाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत् गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताउनुभएको थियो । “अयोध्यापुरी अब विश्वभरका हिन्दू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्को गन्तव्यस्थान हुनेछ, पर्यटकीयस्थल हुनेछ । धेरै तीर्थालु भक्तजनको त्यहाँ गन्तव्यस्थल हुनेछ”, उहाँले भन्नुभएको थियो, “हामी रिउअर्थात सरियू नदी त्यसको व्यवस्थापन, पुलहरूको व्यवस्थापन, नदीहरूको तटबन्धको व्यवस्थापन आदि गर्नेछौँ । मैले भनी राख्नुपर्लाजस्तो लाग्दैन यो भूमि असाधारण सम्भावना बोकेको भूमि हो ।” उहाँले माडीमा अयोध्याधाम बनाउन स्थानीय क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले भने खासै चासो नदिएको बताउनुभएको थियो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडी–९ को कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिएको तर कुनै निर्णय नभएको बताउनुभयो । उहाँले औपचारिकरूपमा अयोध्याधाम पनि घोषणा हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राम मन्दिरसँगै सुकुम्वासी, चेपाङको घर बनाउन पनि प्रस्ताव गरेका छौँ ।”

नेकपा भरतपुरका अध्यक्ष राम न्यौपानेले आफूहरुले काठमाडौँ जाँदा राम र सीताको मूर्तिबारे जानकारी लिएर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “राम मन्दिर कहाँ बनाएर मूर्ति कता प्रतिस्थापन गर्ने भन्नेबारेमा पुरातत्व विभागले थप अध्ययन गरिरहेको छ । माडी नगरपालिकामा पनि यसबारेमा छलफल हुँदैछ । प्रधानमन्त्री माडीमा अयोध्याधाम बनाउन दृढरूपमा लागेको हामीले पाएका छौँ ।”

नेकपाको ओली समूहका नेत्री पार्वती रावलले प्रधानमन्त्रीले केही दिनभित्रैमा हनुमान र लक्ष्मणको मूर्ति पनि तयार पार्ने र संस्कृति, पर्यटन मन्त्रालयसँग छलफल गरेर काम अघि बढाउने तयारी गरेको बताउनुभयो । “राम मन्दिर बन्न लागेको क्षेत्रका जनप्रतिनिधिसँगै म पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थिएँ । उहाँ अब द्रुत गतिमा काम अघि बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ”, रावलले भन्नुभयो, “चितवनको जनसभामा घोषणा गरेअनुरूप नै प्रधानमन्त्री लाग्नुभएको छ ।”

रावलका अनुसार उक्त मूर्ति प्रधानमन्त्रीले आफ्नै खर्चमा तयार पार्नुभएको हो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिसमेत रहनुभएका रावलले चितवनमा अयोध्याधाम बनाउन लागिएको विषय आफ्नो कार्यक्षेत्रअन्तर्गत पनि पर्ने भएकाले सरोकारवाला निकायसँग छिट्टै छलफलमा जुट्ने तयारी भएको बताउनुभयो ।

माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको १०० बिघा जमिन मन्दिरका लागि उपलब्ध गराउने सिफारिस गरेको भए पनि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी रामको जन्मस्थल रहेको बताएपछि यसले तरङ्ग पैदा गरेको थियो ।

माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको जमिन, माडी–९ स्थित घाँगरखोलाको छेउमा रहेको कृष्णनगर पार्कको जमिन र माडी–९ मै रहेको गणेशकुञ्ज क्षेत्रको जमिनलाई मन्दिर निर्माणका लागि उपयुक्त ठहर गरिएको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री ओलीले गत साउनमा माडीका प्रतिनिधिसँगको भेटमा विसं २०७८ को रामनवमीमा मूर्ति प्रतिस्थापन गर्ने गरी तयारी थाल्न भन्नुभएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्रेतायुगका भगवान् श्रीरामको जन्मभूमि अयोध्याको विषयमा अनुसन्धान थाल्नुपर्ने बहस शुरु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार