असार २२, २०८२ आइतबार July 6, 2025

कसैको पछलग्गु भएर कांग्रेस जाँदैन : विमलेन्द्र निधि उपसभापति नेपाली काँग्रेस (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसद् विघटनलाई लिएर यहाँहरूको सुरुमा एउटा निष्कर्ष आयो । तर, यहाँहरूकै पार्टीको नेतृत्वमा ०७२ सालमा जारी गरिएको संविधानको खिल्ली उडाउने र औचित्य नै समाप्त गर्ने गरी प्रधानमन्त्री ओलीबाट कदम चालिए पनि कांग्रेस नरम किन देखिन्छ ? 

प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, जनविरोधी र जनमतको अपमान हो । कांग्रेस यसमा नरम भएको छैन । कांग्रेस सधैँ जोस र होसमा हुन्छ । संविधानको औचित्य समाप्त भएको छैन । अहिले पनि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा नै हो । मुलुकमा संविधान छ र मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामै छ । संविधानको औचित्य समाप्त हुँदैन । प्रधानमन्त्री केपी ओलीबाट संघीयताविरोधी, गणतन्त्रविरोधी, संविधानविरोधी कार्य गरियो । त्यसको दण्डसजाय उनले भोग्ने हुन् । जनताले किन भोग्छन् ? संविधान र प्रणालीले किन भोग्छ ? मुलुकमा संविधान छ र रहिरहन्छ ।

सरकारले संसद् विघटन गरी चुनाव घोषणा गरेको छ । तर, प्रचण्ड–माधव समूह, जसपासहितका दलहरूले संसद् पुनस्र्थापना हुनुपर्छ भनिरहेका छन् । कांग्रेस के चाहन्छ ? 

हामी दुवैमा सहमत छौँ । संसद् पुनस्र्थापनामा भएको खण्डमा त्यसमा जान्छौँ । निर्वाचनमा भए निर्वाचनमा सहभागी हुन्छौं । यो विषय अहिले अदालतमा छ । अदालतको जे फैसला हुन्छ, कांग्रेस सोहीअनुसार अगाडि बढ्छ ।

त्यसो भए चुनावमा यहाँहरू कसरी सहभागी हुनुहुन्छ ? 

चुनाव घोषणा असंवैधानिक होइन । संसद् विघटन असंवैधानिक हो । चुनाव प्रणाली असंवैधानिक हुँदैन । चुनाव घोषणा गर्नु र संसद् विघटन गर्नु दुवै छुट्टाछुट्टै विषय हो । देश र जनताको सर्वोच्च प्रतिनिधिसभा हो र प्रतिनिधिसभा चुनावबाट गठित जनताको सर्वोच्च संस्था हो ।

चुनाव त पूर्वराजा ज्ञानेन्द्र शाहले पनि घोषणा गरेका थिए, तर यहाँहरू सहभागी हुनुभएन नि ? 

राजा ज्ञानेन्द्रले आफ्नो मजबुरीमा चुनावको घोषणा गरेका थिए । अहिलेको चुनाव संविधानमा भएको व्यवस्थाअनुसार गरिएको छ । जुन संविधान नेपाली जनताले पटक–पटकको संघर्षले निर्माण गरेका छन् । यो चुनाव विधिसम्मत नै हो । निर्वाचन प्रणाली केपी ओलीको निजी प्रणाली होइन न निर्वाचन आयोगकै यो निजी प्रणाली हो ।

निर्वाचन प्रणाली हाम्रो संविधानमा लेखिएको छ । जुन संविधान हामी जनताद्वारा निर्वाचित सभाले बनाएको छ । त्यसकारण यी दुवै विषय फरक–फरक हो । आलु र भन्टा एउटै छैन, त्यस्तै यो पनि एउटै होइन ।

सरकारले तोकेको मितिमा चुनाव हुन्छ जस्तो लाग्छ यहाँलाई ? 

हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । सरकारले चुनावको घोषणा गरिसकेको छ । निर्वाचन आयोगले त्यसको तयारी थालिसकेको अवस्था छ ।

तर, एक पक्षले निर्वाचनको तयारी नगर्न निर्वाचन आयोगलाई नै रोकिरहेको छ नि ? 

जुन पक्षले निर्वाचन हुँदैन भनेको छ, त्यो समय र परिस्थितिले निर्धारण गर्छ । संविधान जारी भएपछि केही दलहरूले निर्वाचनमा सहभागी हुँदैनौँ भनिरहको थिए । तर, पछिबाट उनीहरू पनि निर्वाचनमा सहभागी भए नि ।

कतिपय दलका नेताले त यो चुनाव सरकारको नौटंकी हो । चुनाव गराउँदैन, संकटकाल लगाएर सत्ता लम्ब्याउने खेल गरेको भन्छन् त ? 

सरकारले संकटकाल लगाएर सत्ता लम्ब्याउँछ भन्ने कसैको शंका होला । तर, कांग्रेस शंकाको भरमा जाने पार्टी होइन । सरकारले संकटकाल घोषणा गरी राष्ट्रपति शासन लागू गर्छ भने त्यसको विरुद्धमा हामी संघर्षमा जान्छौँ । अहिले किन हतार गर्ने ?

राष्ट्रपति शासनको सम्भावना कति देख्नुभएको छ ? 

मैले त्यस्तो कुनै सम्भावना देखेको छैन ।

चुनाव भए कांग्रेसको एजेन्डा के ? 

संघीयता, लोकतन्त्र, संविधानको संरक्षण, विकास निर्माण, मुलुकको समृद्धि, शिक्षा, स्वास्थ्य तथा जनताको हित हाम्रो एजेन्डा हुन्छ ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम विदेशी शक्तिहरूको सहयोग र विश्वासमा लिएर चालेको कतिपयको आरोप छ । यसमा यहाँको के भनाइ छ ? 

मलाई त्यो थाहा छैन । म यो बुझ्छु कि नेपालको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टीलाई हराए कम्युनिस्टहरू मिलेर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनायो । र, आज त्यही प्रधानमन्त्रीद्वारा अलोकतान्त्रिक, जनविरोधी, असंवैधानिक कदम चालिएको छ । यो कदम प्रधानमन्त्री ओलीले भारत, चीन, अमेरिका कसलाई सोधेर चालियो यो मलाई थाहा छैन । यो त ओजीजीसँग सोध्नुपर्छ । (हाँसो)

कांग्रेससहित सम्पूर्ण लोकतान्त्रिक पार्टीहरू प्रधानमन्त्री ओलीको यो कदमको विरोधमा आन्दोलन गरिरहेका छन् । तर, आन्दोलनमा दलहरूबीच सहकार्य देखिएको छैन । सबैले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् । आन्दोलनमा दलहरूबीच किन सहकार्यको भइरहेको छैन ?

कांग्रेस सही एजेन्डा र जायज माग लिएर आन्दोलन गरिरहेको छ । कसैको पछलग्गु भएर कांग्रेस जाँदैन । कांग्रेस आफ्नै नेतृत्वमा गरिरहेको र गरिरहन्छ । आन्दोलनमा दलहरूबीच त्यस्तो सहकार्यको वातावरणसमेत बनेको छैन । न त छलफल भएको भएको छ ।

विगतका अन्य आन्दोलन जस्तो कांग्रेसले यो आन्दोलनको नेतृत्व किन लिइरहेको छैन ? 

अहिले त मुख्य कांग्रेस मात्रै आन्दोलन गरिरहेको छ अन्य दलहरू त सहरकेन्द्रित आन्दोलन गरिरहेका छन् । कांग्रेस त वडावडामा, गाउँगाउँमा, टोलमा आन्दोलन गरिरहेको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, संविधानको पक्षमा रहेका दलसँग कांग्रेस सहकार्य गर्न तयार छ । तर, अहिलेसम्म त्यो विषयमा कुनै पार्टीसँग छलफल भएको छैन । समय आएपछि उनीहरूलाई समेटर अगाडि बढ्छौँ ।

अदालतको फैसला आएपछि मात्रै सहकार्य हुन्छ कि ? 

अहिले यो हाम्रो छलफल भएको विषय होइन । अहिले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरोध गरिरहेका छौँ । अदालतको जे फैसला आउछ ससद पुनस्थपाना त्यसको पक्षमा पनि छौँ । चुनावको पक्षमा फैसला आउँछ त्यसमा पनि कांग्रेस सहमत छ ।

आन्दोलनमा सहकार्यका लागि सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दिनुपर्छ भन्ने कांग्रेसको अडान त होइन ? 

कांग्रेसको त्यस्तो कुनै अडान होइन । अहिले त प्रचण्ड–नेपाल समूहदेखिदेखि केपी ओलीलगायतका पनि शेरबहादुरजीलाई प्रधानमन्त्रीको अफर गरिरहेका छन् । तर, अहिले देउवाजीले त्यो इन्कार गर्दै आएको छ । उहाँले अहिलेको अवस्थामा पदभन्दा प्रणाली ठूलो हो भन्ने पक्षमा हुनुहुन्छ ।

त्यसकारण हामी अदालतको फैसलाको प्रतीक्षामा छौँ । यसले के अर्थ राख्छ भने शेरबहादुर देउवा कुनै व्यक्ति मात्र होइन । कांग्रेसको सभापति पनि हो । पार्टीको निर्णयले मात्रै केही हुन्छ । विगतमा नेपाली कांग्रेस मुलुकबाट हरायो भन्नेहरू अहिले टर्चलाइट लिएर देउवाजीलाई खोजिरहेका छन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाले पनि उनका नेता तथा कार्यकर्ताले ओलीको पक्षमा पहाडदेखि तराईसम्म जनलहर देखियो भनेर भन्छन् । यसमा यहाँको भनाइ के छ ? 

मैले त्यस्तो कहीँ देखेको छैन । कहाँ छ जनलहर ? र किन हुन्छ जनलहर ? जनताको पक्षमा के गरेका छन् र ? कुनै जनलहर होइन । यो तामझाम गरेर प्रधानमन्त्री केपी ओलीले सत्ताका दुरुप्रयोग मात्रै गरिरहेका छन् ।

अबको राजनीतिक कोर्स के हुन्छ जस्तो लाग्छ ? 

प्रधानमन्त्री ओलीको कदमले देशमा कम्युनिस्ट शक्ति कमजोर हुन्छ । जनताले अब बुझ्न थालेका छन् कम्युनिस्टको हातमा शासन–व्यवस्था दिनुहुँदैन भनेर । जनताले मुलुकमा संघीय लोकतान्त्रिक प्रणाली चाहेका थिए । सोहीअनुसार संविधान निर्माण पनि भयो । र, त्यसमै कसैले आक्रमण र प्रहार गर्छ भने ऊ आफैँ कमजोर र परास्त हुन्छ । यो नै मेरो भविष्यवाणी हो । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार