असार २२, २०८२ आइतबार July 6, 2025

‘भारतले चाहँदैमा हुने होइन, निर्णय त नेपालीले गर्ने हो’- भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता, करण सिंह (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल-भारत सम्बन्धलाई अहिले कसरी हेर्नुहुन्छ ?

सम्बन्धका विभिन्न पाटा छन् । राजनीतिक मात्र नभएर छिमेकी भएकाले आर्थिक, सामाजिक र सांस्कृतिक पाटो पनि निकै महत्त्वपूर्ण छ । ऐतिहासिक रूपले नै निकै निकट र घनिष्ठ सम्बन्ध रहँदै आएको छ ।

पछिल्लो एक वर्ष सम्बन्धमा निकै उतारचढाव देखियो नि ?

त्यही त मलाई पनि निकै दुःख लागेको छ । सीमाको मुद्दाका कारण निकै असहज वातावरण बन्यो । नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सा छाप्यो । भारतको पनि आफ्नै दाबी छ । भारतसँग पनि पक्कै केही प्रमाण होला । जे भए पनि दुई देशबीचका जुनसुकै मुद्दा संवादबाट हल गर्न सकिन्छ भन्ने मेरो मान्यता हो । मुख्य कुरा यस्तो ऐतिहासिक सम्बन्ध भएका मुलुकबीच मनमुटावको कल्पना पनि गर्न सकिँदैन ।

नेपालले सीमालगायत आफ्नो चासोका विषय उठाउनासाथ भारतीय पक्षबाट चीनले उकासेको भन्ने आरोप लगाउने गरेपछि अब कसरी सम्बन्ध सहज हुन्छ त ?

भारतले पनि एउटा कुरा बुझ्नुपर्छ, नेपालले चीनसँग सम्बन्ध बढाउँदैमा भारतबाट टाढा गएको भन्ने हुँदैन । नेपाल कुनै पनि अवस्थामा भारतबाट टाढा हुन सक्दैन । त्यो भन्दैमा नेपालको राजनीतिक नेतृत्वले पनि अरूसँग नजिक हुनका लागि भारतलाई अविश्वास हुने वातावरण बन्न दिनुभएन । अभिव्यक्ति दिँदा संवेदनशील बन्नुपर्‍यो ।

नेपालका प्रधानमन्त्री यस विषयमा अलि गम्भीर देखिनुभएको छैन । धार्मिक र सांस्कृतिक विषयलाई पनि राजनीतिक विषयजसरी टिप्पणी गर्दा सम्बन्धमै असर पर्छ भन्ने ख्याल राख्नुपर्छ ।

अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीको विरोधमा तपाईंले विज्ञप्ति नै निकाल्नुभयो त ?

हो । यस्ता विषयलाई हल्का रूपमा लिनु हुँदैन । दुई देशबीच जुन किसिमका सम्बन्ध र आधार छन्, त्यसलाई त्यस्ता टिप्पणीले चोट पुर्‍याउँछ भनेर नै मैले धारणा सार्वजनिक गरेको हो । नेपालको राजनीतिक नेतृत्वले भारत–नेपाल सम्बन्धको गहिराइलाई बुझ्नुपर्छ ।

नेपालसँग तपाईंको पारिवारिक सम्बन्ध पनि छ । त्यसबारेमा पनि केही बताइदिनुहुन्छ कि ?

नेपाल त मेरो ससुराली नै भयो नि । मेरो विवाह महाराजा मोहनशमशेरकी नातिनी यशोराज्य लक्ष्मीसँग भएको हो । त्यो सन् १९५० को कुरा हो । विवाह बम्बईमा भएको थियो । सन् १९६० मा पहिलोपटक नेपाल गएँ । अहिले पनि सम्झना छ । काठमाडौंको लक्ष्मी निवासमा बसेको थिएँ । पशुपतिनाथ मन्दिर र अन्य धेरै ठाउँ घुमेको थिएँ । काठमाडौंको त्यो बसाइ निकै रमाइलो थियो । पछि पनि गइरहन्थे तर अहिले त नगएको धेरै भइसक्यो । अब उमेरले पनि दिँदैन ।

नेपालका पछिल्ला राजनीतिक घटनाक्रमबारे कत्तिको जानकार हुनुहुन्छ ?

धेरै त छैन तर ओलीजीले संसद् विघटन गर्नुभएको भन्ने थाहा छ । अदालतमा पनि मुद्दा परेको रहेछ तर यो नेपालको आन्तरिक विषय हो । म धेरै चासो राख्दिनँ । अब नेपालबाट कोही आएका बेला भेट हुँदा त्यहाँबारे चासो राख्ने गर्छु । पशुपतिशमशेर राणा (श्रीमतीका भाइ) दिल्ली आएका बेला भने कुराकानी हुन्छ ।

नेपालको अहिलेको राजनीतिको मार्गचित्र त २०६२/६३ को जनआन्दोलनले नै कोरेको हो । तपाईं त्यो आन्दोलन उत्कर्षमा पुगेका बेला भारतको विशेषदूत भएर नेपाल जानुभएको थियो । पछाडि फर्केर हेर्दा आफ्नो त्यो भ्रमणलाई कसरी सम्झनुहुन्छ ? ठ्याक्कै भन्दा दिल्लीको के सन्देश लिएर जानुभएको थियो ?

हो, मलाई प्रधानमन्त्री मनमोहन सिंहले ठूलो जिम्मेवारी दिनुभएको थियो । उहाँले नै बोलाएर ‘विशेषदूत बनेर जानू’ भन्नुभयो । मैले पनि त्यसलाई ऐतिहासिक चुनौती र अवसरका रूपमा स्वीकार गरें । प्रधानमन्त्रीको पत्र लिएर गएको थिएँ ।

मसँग विदेश सचिव श्यामशरण पनि काठमाडौं गएका थिए । तर मैले राजासँग एक्लै भेट्छु भनें । सम्मानको कुरा पनि हो । कर्मचारीलाई सँगै राखेर भेट्दा राजाको सम्मानमा चोट पुग्छ भन्ने मेरो बुझाइ थियो । शरणले माने पनि । भेटघाट पनि निकै हार्दिक रह्यो । राजालाई प्रधानमन्त्रीको पत्र पनि दिएँ । मेरो भ्रमणको मुख्य उद्देश्य राजनीतिक दल र राजा मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिनु थियो ।

तपाईं काठमाडौंमा भएकै बेला राजा र सात राजनीतिक दलबीच कुनै औपचारिक सहमति भएको भनिन्छ नि ?

त्यस्तो कुनै लिखित सहमति भएको होइन तर राजाले कार्यकारी अधिकार फिर्ता गर्ने र राजनीतिक दलहरूसँग मिलेर अघि बढ्ने भन्ने समझदारी बनेको थियो । भारत पनि दुई खम्बे नीति (संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र) कै पक्षमा थियो ।

अनि तपाईं दिल्ली फर्किनुअघि नै त्यो समझदारी उल्टियो त ?

खोइ, यसमा मेरो केही भन्नु छैन । सायद राजाले पूरै नहट्ने हो भने परिस्थिति थप बिग्रन सक्छ भन्ने आकलन गरेर पनि होला । दरबार पूरै घेरामा परिसकेको र राजालाई नै थप समस्या पर्न सक्छ भनेर त्यो निर्णय गरिएको पनि भनिन्छ । एजेन्सीहरूले पनि रिपोर्ट गरे भन्ने सुनेको हुँ ।

भनेपछि दिल्लीले एकातिर तपाईंलाई पठाएर राजा र दल मिलेर जान सुझाव दिने अनि अर्कोतर्फ नेपाली जनताले राजा हटाउन चाहन्छन् भने पनि स्वीकार्य छ भन्ने । यो त दोहोरो खेल भएन र ?

यसमा थप केही भन्नु छैन ।

त्यस विषयमा पछि मनमोहन सिंहसँग तपाईंको कुरा भएन ?

भएन । सायद असहज लागेर होला, मनमोहन सिंहले मसँग त्यस विषयमा पछिसम्म कुरै गर्नुभएन ।

पूर्वराजा ज्ञानेन्द्रले त अहिले पनि घुमाउरो ढंगले भारतले धोका दिएको आरोप लगाउनुहुन्छ नि ? त्यो आरोप तपाईंमाथि पनि भएन र ?

त्यो त उहाँको कुरा हो ।

पूर्वराजा ज्ञानेन्द्रसँग त तपाईंको पारिवारिक सम्बन्ध नै छ । त्यसपछि भेटघाट र संवाद भएको छैन ?

छैन । हुन त उहाँ सार्वभौम मुलुकको राजा नै हुनुहुन्थ्यो । मेरो विचारमा राजसंस्था भनेकै जनताको सेवाका लागि हो । उहाँले सक्रिय राजनीतिबाट पनि जनताको पक्षमा काम गर्न सक्नुहुन्छ । मैले पनि त्यही गरेको हुँ । पार्टी राजनीतिमा पनि सक्रिय भएँ । राज्यसभामै १८ वर्षभन्दा बढी थिएँ । उहाँको त अझै उमेर पनि छ । त्यही भएर म त भन्छु, उहाँले नेपालको आर्थिक र सामाजिक विकासमा राजनीतिमार्फत योगदान गर्नुपर्छ । अब राजसंस्था फर्किन्छ भन्ने त मलाई लाग्दैन ।

भारतको एउटा तप्का हिन्दु राष्ट्र र राजसंस्था फर्कियोस् भन्ने चाहन्छ भनिन्छ नि ?

भारतले चाहँदैमा हुने होइन । निर्णय त नेपाली जनताले गर्ने हो ।

तपाईंसँग संसदीय राजनीतिको पनि लामो अनुभव छ । संसदीय व्यवस्थाका कमजोरीलाई कसरी केलाउनुहुन्छ ? यसलाई सुदृढ बनाउन तपाईंको सुझाव ?

पहिले संसदीय व्यवस्थाको लक्ष्यलाई ध्यानमा राख्नुपर्छ । त्यही भएर सबैभन्दा पहिले सरकार देखिने हुनुपर्‍यो । प्रशासन व्यवस्था निकै सुदृढ र चुस्त हुनैपर्छ ।

राजनीतिका ठूला कुरा गरेर मात्र हुँदैन । जनताले खोज्ने सेवा हो । त्यसका लागि सरकारसँग राम्रा सल्लाहकारहरू हुनैपर्छ । नेपालको हकमा पनि यही लागू हुन्छ जस्तो लाग्छ । सरकार बनाएर मात्र हुन्न, राम्रा सल्लाहकार पनि राख्नुपर्छ । अनि मात्र जनताले खोजेको सेवा प्रभावकारी हुन्छ । तब मात्र लोकतन्त्र र संसदीय व्यवस्था पनि सुदृढ बन्छ ।

नेपालको लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासका लागि भारतको भूमिका पनि अहम् हुन्छ । त्यसमा भारतले पनि सघाउनुपर्छ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार