असार २२, २०८२ आइतबार July 6, 2025

‘मुद्दा फिर्ता लिन अदालतलाई मनाउनुपर्छ’ – अनिल शर्मा (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिबन्धको दुई वर्ष पुग्नै लाग्दा सरकारसँग वार्ता सुरु भएको छ । यो कसरी सम्भव भयो ?

हामी वार्ताको विरोधी होइनौं भनेर पहिलेदेखि नै भन्दै आएका थियौं । सरकारले सीके राउतको स्टाइलमा वार्ता गर्न चाहेको थियो, हामीले निःसर्त वार्ता गर्ने भन्दै आएका थियौं । सरकार पनि पूर्वसर्त नराखीकन वार्ता गर्न र वार्ताको टेबुलमा बस्न मञ्जुर भएपछि वातावरण बनेको हो । हामीले पूर्वसर्त मान्ने भएको भए अगाडि नै वार्ता भइसक्थ्यो ।

वार्ताको औपचारिक घोषणा हुनुअघि सम्पर्क भयो होला । सरकार र तपाईंहरूबीच त्यसमा के–के कुरा भएको थियो ?

सरकार पक्ष र नेपाल कम्युनिस्ट पार्टीका बीचमा वार्ताका निम्ति आवश्यक कैयौं प्रक्रिया पूरा भएका छन् । कतिपय प्रक्रिया अझै पूरा हुने चरणमै छन् ।

प्रक्रिया पूरा नभई वार्तामा कसरी बस्नुभयो त ?

धेरै प्रक्रिया पूरा भएका छन्, अरू प्रक्रिया वार्ताकै क्रममा पूरा हुँदै जान्छन् भन्ने हाम्रो अपेक्षा हो ।

सरकारी पक्षबाट गृहमन्त्रीकै अध्यक्षतामा वार्ता कमिटी बन्यो । लगत्तै तपाईंहरूबाट पनि वरिष्ठ नेताकै नेतृत्वमा टोली घोषणा भयो । दुवै पक्षले उच्च महत्त्व दिएको देखियो, यो फलदायी हुने हो कि वार्ताका लागि वार्ता मात्रै हो ?

हामी आफ्नोतर्फबाट इमानदारीपूर्वक प्रयत्न गर्छौं । वार्ता फलदायी हुन्छ/हुँदैन भन्ने कुरा उहाँ (सरकार) हरूकै नीतिमा भर पर्छ ।

वार्ताका लागि तपाईंहरूका पक्षबाट राखिएका न्यूनतम सर्त के–के हुन् ?

वार्ता फलदायी हुन व्यवस्थित ढंगले एजेन्डामा प्रवेश गर्नुअगाडि केही काम गर्नु जरुरी छ । जस्तो प्रतिबन्ध फुकुवा गर्ने काम, जेल/हिरासतमा रहेका राजबन्दीहरूको रिहाइ र उहाँहरूमाथि लागेको मुद्दा खारेजीका काम गर्नुपर्छ । त्यसो भएपछि अरू गम्भीर विषयमा वार्ता प्रवेश गर्छ ।

कतिपय जघन्य किसिमका अपराधका मुद्दा पनि छन् । जो अदालतमा विचाराधीन छन् । त्यस्ता मुद्दा सरकारले चाहँदैमा फिर्ता हुने स्थिति छ र ?

सरकारले समस्या समाधान गर्न चाहने हो भने, सरकारको नियन्त्रणको विषय हो भने सरकारले त्यसलाई हल गर्न सक्नुपर्छ । समस्याको समाधान गर्ने औकातै सरकारसँग छैन भने त वार्ता गर्ने हैसियत पनि छैन भनेर बुझ्नुपर्‍यो नि ।

अदालती प्रक्रियामा भएको मुद्दालाई तपाईंहरूले कत्तिको गम्भीर रूपमा लिनुभएको छ ?

न्यायालय पनि सरकारभन्दा बाहिर हुँदैन । त्यसकारण सरकारको नियन्त्रणभित्र नै हो नि यो मामिला । अदालतसँग यसबारे समन्वय गर्नुपर्छ । अदालतलाई मनाउन पनि सक्नुपर्छ । सरकारले अदालतलाई मनाउन सक्दैन भने वार्ता गर्ने औकात सरकारसँग छ त ? भन्ने प्रश्न उठ्छ नि ।

राजनीतिक परिस्थिति हेर्दा सरकारकै भविष्य अनिश्चित छ, यस्तो सरकारसँग वार्ताका लागि किन तयार हुनुभयो ?

सरकार कति दिन टिक्छ, सरकारको हैसियत कस्तो छ, त्यो हामीले भन्ने होइन । सरकारको नेतृत्व जसले गरेको छ, त्यसैसँग हामीले वार्ता गर्नु स्वाभाविक हो । सरकारले वार्ता गर्न चाहेपछि हामीले पनि त्यसको तयारी गर्नु कर्तव्य हुन्छ । अब उहाँहरूले सक्नुभएन भने अथवा बीचमा अर्को सरकार आयो भने त्यसपछि आउने सरकारको कस्तो नीति हुन्छ, त्यहीअनुसार हामीले पनि नीति तय गर्ने कुरा हो ।

प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल वा केपी शर्मा ओलीमध्ये यो ठीक हो, ऊ बेठीक हो भनेर हामी भन्दैनौं । आधारभूत रूपमा, राजनीतिक/वैचारिक रूपमा उहाँहरूलाई हामीले एउटै दृष्टिकोणले हेर्छौं । त्यसकारण सरकारमा जो छ, त्यसैसँग वार्ता गर्ने कुरा हो ।

अन्य सबै राजनीतिक शक्ति ओलीविरुद्ध उत्रिएपछि तपाईंहरूलाई आफ्नो पक्षमा पार्नका लागि वार्ताको कुरा गरेका हुन् भन्ने टिप्पणी सुनिन्छ नि, यसलाई कसरी हेर्नुभएको छ ?

सरकार वार्तामा बस्न तयार भएपछि हामी पनि तयार भयौं । सरकारले कुन कारणले समस्या समाधान गर्न चाह्यो, आफू असजिलोमा परेर वार्ताको कुरा गर्‍यो कि, अरू कुनै कुराबाट प्रभावित भयो कि, त्योचाहिँ भविष्यले देखाउने कुरा हो । आमनागरिकले विश्लेषण गर्ने कुरा हो । हामी यस विषयमा धेरै बोल्न चाहँदैनौं । हामीले त पहिलेदेखि नै भनेका थियौं– सरकार बिनासर्त वार्तामा बस्न चाहन्छ र राजनीतिक एजेन्डामा बहस गर्न चाहन्छ भने हामी तयार छौं । हाम्रो कारणले हिजो वार्ता रोकिएको थिएन । अहिले पनि सरकारले चाह्यो, हामी तयार भयौं ।

कार्यकर्ता रिहाइ, प्रतिबन्ध फुकुवा र मुद्दा फिर्ताको सर्त राखेपछि सरकारका पनि त तपाईंहरूसँग केही सर्त होलान् नि ?

सरकारले अहिले कुनै सर्त राखेको छैन । उसले पनि वार्ताको टेबुलमै सर्त र एजेन्डाहरू राख्ने भनेको हो ।

तपाईंहरू भूमिगत हुनुहुन्छ, सैन्यशक्तिसहितको पार्टी भनिन्छ । हतियार पनि होलान्, हिंसात्मक गतिविधि पनि भएका छन्, यी विषय कसरी अघि बढ्छन् त ?

वार्तामा उहाँहरूले एजेन्डा राखेपछि हाम्रा धारणा राख्छौं । भर्खर त वार्ता अघि बढेको छ । हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं । जनसंघर्ष गरिरहेका छौं । त्यसकारण बहस हिंसा र हतियारको हुँदै होइन ।

एसएलआर, एलएमजी, एसएमजी, एम–१६ लगायत शक्तिशाली हतियार तपाईंहरूसँग कहाँबाट आएका त ?

हतियार त अहिले सबैसँग छ । कांग्रेससँग पनि, कम्युनिस्टहरूसँग पनि । प्रचण्डले पनि त्यत्रो दसौं वर्ष हतियार उठाए, आफूहरूसँग भएका सबै हतियार बुझाएका छैनौं भनेर उनीहरू नै भन्छन् । कर्णालीमा बगेका हतियारका कुरा पनि छन् । त्यसकारण हतियार त घरघरमै छन् नि, के ठूलो कुरा भयो र ?

तपाईंहरूसँग हतियारहरू छन् भन्ने त स्विकार्नुपर्‍यो नि, हैन ?

सरकारले शान्तिपूर्ण ढंगले समाधान गर्न चाहेन भने र शान्तिको आवाजलाई, जनताको चाहनालाई बन्दुकले दबाउन खोज्यो भने नागरिकले विद्रोह गर्ने अधिकार छ भनेर त संयुक्त राष्ट्रसंघले नै भनेको छ नि । हामी भूमिगत छैनौं । खुलै छौं । जनताका बीचमा छौं । जनताका बीचमा भएको मान्छेलाई महलमा बस्नेले देख्दैनन् ।

वार्ता समितिमा तपाईंहरूका तर्फबाट सैन्य फाँट हेर्ने उदयबहादुर चलाउनेलाई पनि राख्नुभएको छ, गृहमन्त्री रामबहादुर थापाले नै चन्द समूहसँग सैन्यसम्बन्धी ४ वटा कम्पनी नै रहेको बताएका थिए नि ?

यसको पुष्टि गृहमन्त्रीले नै गर्नुहोला । हामी अहिले त्यतातिर प्रवेश नगरौं ।

सैन्य फाँट हेर्ने नेतालाई नै वार्ता टोलीमा समावेश गर्नुको कारण के हो ?

जनमुक्ति सेनालाई बेइज्जत गरेर प्रचण्ड–बाबुराम भट्टराईले विघटन गरे । त्यसप्रकारको शक्तिलाई हामीले फेरि सम्मानित गर्ने कुरा, त्यो शक्तिलाई अगाडि बढाउने कुरा त जनताका लागि खुसीकै विषय हो नि ।

सरकारसँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भयो भने नेत्रविक्रम चन्द तत्कालै खुला राजनीतिमा आउनुहुन्छ ?

उहाँ खुला राजनीतिमै हुनुहुन्छ । जनताकै बीचमा हुनुहुन्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार