असार २८, २०८२ शनिबार July 12, 2025

अब मुलुक पछाडि फर्कदैन : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको बताएका छन्। बिहिबार सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन नदी तटमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढेको कुरामा ढुक्क हुन जनतासँग आग्रह गरे ।

“यो आयोजना सम्पन्न भएसँगै एक लाख ८५ हजार बिघा जग्गामा सिँचाइ सुविधा पुग्नेछ, मधेशका फाँट हराभरा हुनेछन्”, उनले भने, “आयोजनाले ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष लिएको छ ।” आयोजनाको सफलतासँगै सिन्धुलीसहित मधेशका जिल्लामा किसान नयाँ युगमा प्रवेश गर्ने प्रधानमन्त्रीको भनाइ छ । सरकार दत्तचित्तसाथ समृद्धि अभियानमा लागेको हुँदा अब जनताका दुःखका दिन चाँडै सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

“देशले विकासको गति लिई सक्यो, तपाईँहरु ढुक्क हुनुहोस् ।”, प्रधानमन्त्री ओलीले जनतालाई आवश्त बनाउँदै भने, “अब मुलुक पछाडि फर्कदैन ।” यो आयोजनासँगै सुनकोसी कमला डाइभर्सन आयोजना निर्माणको काम थालिने र त्यसले एकलाख ७० हजार बिघा जमीनमा सिँचाइ सुविधा पुर्‍याउने प्रधानमन्त्रीको भनाइ थियो ।

“अब प्रदेश–२ हराभरा बगैँचा बन्नेछ”, प्रधानमन्त्रीले भने, “मलाई मधेश विरोधी भन्नेहरु यी आयोजनाको सफलताबाट नाजवाफ हुनेछन् ।” यो आयोजना नहरमात्र नभएर विद्युत् उत्पादन र सिञ्चाई सुविधाले जमीन मुनीको पानीको सतहमाथि ल्याउने भएको हुँदा बहुद्देश्यीय भनिएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोजनाले हिमाली नदीको पानीलाई पहाडी नदीसँग जोडेर मधेश झार्ने भएकोले तीनै भूगोलका जनतालाई जोड्ने ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कोविड–१९ विरुद्धको लडाइँ नेपालीले जित्दै गएका उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकारले पूर्वपश्चिम हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको बताए । त्यसैगरी मुलुकबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको चर्चा गरे । मुलुक अब आधुनिकतातर्फ प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबको तिहारमा नेपाली विद्युतीय बसमा चढेर यात्रा गर्ने बताए ।

समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सुनकोशी–मरिन डाइभर्सन आयोजना मुलुकको आर्थिक क्रान्तिको महत्वपूर्ण हिस्सा बन्ने उल्लेख गरे । त्यसैगरी समारोहमा शहरी विकासमन्त्री प्रभु साहले प्रदेश–२ को विकासमा सुनकोशी मरिन र सुनकोशी–कमला डाइभर्सन आयोजना महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरे ।

समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरिएको आयोजना समयमै सम्पन्न गर्न सङ्घीय सरकार र सम्वद्ध पक्षसँग आग्रह गरे ।

समारोहमा आयोजनाका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले कार्य सम्पन्न भएपछिका दिनमा आयोजनाबाट वार्षिक रु १० अर्ब आर्जन हुने बताए । नेपाल सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको र आव २०८२÷८३ सम्म आयोजना निर्माण गरिसक्ने समय सीमा तय गरिएको महानिर्देशक राजभण्डारीको भनाइ छ ।

आयोजनाको शिलान्याससँगै प्रदेश–२ का आम किसानमा आफ्ना दिन फिर्ने नयाँ आशा पलाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया