एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले एउटा निर्णय गर्यो, लगत्तै तपाईंहरू पनि बस्नुभयो । तपाईंहरूले चाहिँ के निर्णय गर्नुभयो ?
सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र त विभाजित भए नै । हामी नेकपा एमालेलाई एकताबद्ध बनाएर राष्ट्रको हितमा अगाडि बढाऔं भनेर लागेका थियौं । तर ओलीजीले बालुवाटारमा गुटको भेला गरेर एमालेको विधानविपरीत, कानुनी राज्य र लोकतान्त्रिक मान्यताविपरीत स्वेच्छाचारी किसिमले कसैलाई हटाउने, कसैलाई राख्ने हुकमीतन्त्रमा काम गरेपछि हामीले त्यसबारे समीक्षा गर्यौं । त्यसका विभिन्न पाटामा छलफल गर्यौं ।
उहाँको त्यो गुट हो । कैयौं समूहमा चालिएर अवसरका लागि गएका मान्छे, जसले एमाले निर्माणमा सिन्को भाँचेका छैनन्, तिनीहरूले हामीलाई स्वागत गर्ने रे ! हामी त एमाले पार्टी हौं । यसको रक्षा गर्न हामी चाहन्छौं । केपी ओलीले जहाँ–जहाँ समस्या खडा र पार्टीविरुद्ध गुटबन्दी गर्नुहुन्छ, त्यहाँ–त्यहाँ हामी आवश्यक पर्यो भने समानान्तर कमिटी बनाएर भए पनि यो आन्दोलन बचाउन र उहाँका निरंकुश क्रियाकलापलाई रोक्न प्रयास गर्छौं ।
निर्वाचित पदाधिकारीलाई हटाइएको छैन, जिम्मेवारी त आवश्यकताअनुसार हेरफेर गर्न सकिन्छ नि हैन र ?
यो तर्क नै मूर्खतापूर्ण छ । निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसेर जनतालाई ढाँट्ने, कार्यकर्तालाई छक्याउने काम मात्रै हो । कार्यविभाजन हेरफेर गर्नलाई त बैठक चाहिन्छ ।
हामी त महाधिवेशनबाट निर्वाचित हौं । म महाधिवेशनबाट निर्वाचित होइन ? मलाई हटाएर त्यहाँ केही पनि काम नगरेकालाई ल्याएर इन्चार्ज बनाउने ? योभन्दा निर्लज्ज, स्वेच्छाचारी के हुन्छ ? हिजोका शासकले पनि बरु कानुन मनपरि बनाउँथे तर बनाएको कानुन कार्यान्वयन गर्थे । महाधिवेशनबाट पारित विधानलाई मिचेर निर्लज्जतापूर्वक काम गरिएको छ अनि हेरफेर गर्यौं भन्नु हास्यास्पद कुरा हो ।
उहाँहरूले तपाईंहरूलाई औपचारिक रूपमा बैठकमा बोलाउनुभएको छ नि त ?
त्यही बैठकबाटै कसैले त्यस्तो भनेको छ भने त्यो मूर्खतापूर्ण कुरा हो । गुटको बैठक बसेर केपी ओलीको वरिपरिका मान्छेलाई राखेर, पार्टीको विधान मिचेर एमालेविरुद्ध हिजो काम गरेका र यो पार्टीका लागि सिन्को नभाँचेर पदका लागि गएका केही मान्छेलाई राखेर हामीलाई पार्टीका पदहरूबाट निष्कासन गर्ने अनि मनपरिसित महाधिवेशन गर्छु भन्ने ? यो आह्वान होइन, दुई ठूला कम्युनिस्ट पार्टीलाई अलग गरिसकेपछि एमालेलाई पनि फुटाएर देशीविदेशी प्रतिक्रियावादीको इच्छा पूरा गर्ने खेल हो ।
पार्टीको आन्तरिक कुरा नै होला नि ? जहाँ पनि देशीविदेशी प्रतिक्रियावादी जोड्न मिल्छ र ?
यो थाहा पाउन गत वैशाखदेखिकै सिलसिला हेर्नुपर्ने हुन्छ । त्यतिखेर उहाँले दल विभाजन गर्ने षड्यन्त्र गर्नुभयो । त्यसपछि उहाँले बालुवाटारमा सामन्त गोयलसँग गोप्य भेट गर्नुभयो । प्रधानमन्त्रीले एमसीसी सम्झौता जसरी पनि पास गर्छु भनेर देशमा उपनिवेशीकरण गराउन खोज्नुभएको छ, त्यो त्यसै होइन । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा निकालिसकेपछि त्यो पारित गर्ने प्रतिनिधिसभालाई नै उहाँले भंग गरिदिनुभयो ।
नागरिकता विधेयक राज्यव्यस्था समितिले पारित गरेर पेस गरेकै बेला उहाँले प्रतिनिधिसभा भंग गरिदिनुभयो । सँगसँगै गएको भदौ २६ मा पार्टी बचाउनका लागि हामीले उहाँलाई पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस् भनेका थियौं । त्यसलाई पनि नमानेर पार्टी नफुटाई नहुने अवस्थामा पुग्नुभयो, यो सबै कुरालाई जोडेर हेर्नुपर्छ । त्यसैले के प्रस्ट हुन्छ भने केपी ओलीले योजनाबद्ध ढंगले साँठगाँठ गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पार्ने र मुलुकलाई कमजोर बनाउने षड्यन्त्रको अंग बनेर काम गर्नुभएको छ ।
अब निकास के त ? उहाँहरूले पनि तपाईंहरूसहितको बैठक ७ गतेका लागि बोलाउनुभएको छ नि ?
विधान मिचेर उहाँहरूले आज नेपालको कम्युनिस्ट आन्दोलनविरुद्धमा वितण्डा मच्चाउनुभएको छ । दुई ठूला कम्युनिस्ट पार्टीलाई अलग गरेर नपुगेपछि एमाले एक भएर कतै बलियो पो भइहाल्छ कि भनेर गरिएको यो षड्यन्त्रमूलक काम हो । यस्तो
षड्यन्त्रमूलक काम गर्ने व्यक्तिले जहाँ–जहाँ बोलायो, त्यहीं–त्यहीं हो–हो भन्दै सजिलै जाने कुरा भएन । त्यसैले हामी केन्द्रीय कमिटीका साथी र अरूसँग परामर्श गर्छौं । त्यसपछि जे निष्कर्ष निस्किन्छ । त्यही निर्णय गर्छौं । कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया