गण्डकी प्रदेशको पर्यटन व्यवसाय अहिले कुन अवस्थामा छ ?
हाम्रो पर्यटन अहिले पनि निरन्तरतामै अघि बढेको छ । विगतमा जे जसरी पर्यटन व्यवसाय चलिरहेको थियो, त्यसैको निरन्तरता अहिले छ । पर्यटनबाट समृद्धि ल्याउन अब ऐन, कानुन, पूर्वाधार, जनशक्ति, प्रडक्ट थप्नुपर्ने हुन्छ ।
कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्रलाई पारेको असरलाई गण्डकी प्रदेश सरकारले कुन रुपमा बुझेको छ ?
कोरोनाको कारणले पर्यटन कोमामै पुगेको थियो । आन्तरिक पर्यटनको कारणले केही अघि बढिरहेको देखिएको छ । अहिले पनि विदेशी पाहुना आउने अवस्था छैन । पछिल्लो समय केही भारतीय आउन थालेका छन् । अरु विदेशी आउने अवस्था छैन । अहिले कोरोनाको खोप पनि लगाउन थालिएकोले बिस्तारै चलायमान हुन खोजेको जस्तोे देखिएको छ । कोरोनाका कारण पर्यटन क्षेत्रले प्रतिदिन १४ करोडको घाटा बेहोरेको थियो । त्यो घाटा अहिले पनि छ । असोजपछि केही आन्तरिक पाहुना आउन थालेपछि घाटा थोरै कमी भएको होला । आन्तरिक पर्यटकले होटलको ढोका खोलेको र ढुसी मात्र फालेको हो, आम्दानी भने भएको छैन ।
गण्डकी प्रदेश सरकारले २०१९ मा आन्तरिक पर्यटन वर्ष मनायो । त्यसपछि कोरोनाको कहर सुरु भयो, अहिले कोरोनाको त्रास केही घटेको देखिएको छ । अब फेरि अभियान चलाउने बेला भएन र ?
२०१९ मा आन्तरिक पर्यटक लक्षित भ्रमण वर्ष मनाएपनि कोरोनाका कारण त्यसपछि रोकिएको हो । पर्यटनमा व्यक्तिको आदानप्रदान हुनुपर्छ । कोरोनाका त्रासले मान्छे नै डुल्न, आउजाउ गर्न नपाउने अवस्था आएपछि रोकिएको हो । अब आन्तरिक पर्यटनका लागि काम गर्ने बेला हुन थालेको छ । अब बिस्तारै सुरक्षित हिसाबले स्वास्थ्यका मापदण्ड बनाएर आन्तरिक पर्यटन चलायमान बनाउने बेला भएको छ । तर, पूर्ण रुपमा त्रास अझै हटेको छैन । कतिपय देशमा कोरोनाको दोश्रो लहर पनि देखिएको छ । अन्यत्र अझै पनि कोरोनाको प्रभाव देखिएकोले हामीले हतार नगरी सुरक्षित रहन खोजेका हौं ।
पोखराले आन्तरिक पर्यटनमा ४० प्रतिशत हिस्सा लिइसकेको थियो । व्यवसायीले अझै पनि आन्तरिक पर्यटन भनिरहेका छन् । तर, के पोखराले बोलाउँदैमा आन्तरिक पर्यटक आउँछन् त ?
पोखरा प्रकृति, संस्कृतिको धनी भएकोले यहाँ भित्रिनासाथ पाहुनाले भिन्दै अनुभव गर्छ । उडेर वा गुडेर यहाँ आइसक्दा पाहुनामा भिन्दै खुसियाली हुन्छ । हामी अझ व्यवस्थित नभईसक्दा पनि यो अवस्था छ । पोखरा खुला छ, पोखरा सुरक्षित छ भनेर सन्देश दिन सकियो भने पक्कै पनि पर्यटक आउँछन् ।
कुनै प्याकेज र योजना बिना पाहुना तान्न सकिएला र ? पर्यटक तान्ने बहाना के त ?
पर्यटन क्षेत्रमा प्याकेज बनाउनु पर्छ । अहिलेसम्म पर्यटन गुजारा र निरन्तरतामा थियो । तर, अब प्रतिश्पर्धा आवश्यक छ । अब खर्च गर्ने पर्यटक तान्नुपर्छ । अहिलेसम्म संख्यात्मक रुपमा पर्यटक भित्रिएको कुरामा हामी भुलेका छौं, तर, अब संख्या मात्र नभई गुणस्तरीय पर्यटक तान्नुपर्छ । त्यसका लागि महंगा पर्यटकले खर्च गर्नेगरि गतिविधि बढाउनुपर्छ ।
तर, पर्यटकीय क्षेत्र लेकसाइडको गुनासो त पूर्वाधार भएन भन्ने नै छ त ? निजी क्षेत्रले लगानी ग¥यो, तर सरकारी तहबाट सहयोग भएन भन्ने गुनासो छ । के भन्नुहुन्छ ?
गुनासो उनीहरुको हो । पोखराको फेवाताल बनाउन २८ करोड रुपैयाँ (सिल्टेसन ड्याम), पूम्दिकोटमा ४३ करोड रुपैयाँ खर्चेर शिबजी मन्दिर र योगासन, फेवाताल सौन्दर्यीकरण, फेवातालको सीमांकन जस्ता पुर्वाधार बनाउने र संरक्षणका काम भईसकेका छन् । यी काम प्रदेश सरकारले गरेको छ । डेढकरोड रुपैयाँ खर्चेर सराङकोटमा रिभल्भिङ टावर बनिरहेको छ । कुन ठाउँमा पैसा परेको छैन भनेर भन्न सकिन्न । विभिन्न गन्तव्यमा पनि बाटो बनाएका छौं । काम नियमित भईरहेका छन् ।
त्यसो भए किन यस्तो गुनासो आउँछ त पर्यटन व्यवसायीबाट ?
गुनासो त आउनुपर्छ । आफ्नै अगाडि भएन भने उसले गुनासो गर्छ । यताउती पाइला चालेर हेर्दैन । उ आफ्नो व्यवसायबाट आत्मकेन्दित छ । त्यस्तो बेला गुनासो आउने हो । हामीले पनि गरेका कामको प्रचार गर्न सकेका छैनौ । हाम्रा कमिकमजोरीलाई देखाएर गुनासो गर्नु नराम्रो होइन, त्यो गुनासोको रुपमा नभई माग गरेको रुपमा हामीले बुझेका छौ ।
आन्तरिक पर्यटक प्रवद्र्धन गर्नका लागि कर्मचारीलाई खर्च दिएर घुम्न पठाउने तयारी प्रदेश सरकारले गर्ने भन्दै आएको थियो । संघीय सरकारले पनि दुईदिन सार्वजनिक बिदा दिएर कर्मचारीलाई घुमाउने भनेको हो । यो प्रक्रिया कहाँ पुग्यो ?
गण्डकी प्रदेशका २२ सय कर्मचारीलाई सातदिन घुमेर आउ, अनि एकमहिनाको तलब लैजाउँ भनेका हौ । ६ दिन काम गराएर दुईदिन बिदा गराउनु ठुलो कुरा होईन । तर, हामीले कामै दिन सकेनौ । अवसर र सुविधा दिने तर, ६ दिन काम नै पुगेन । प्रयाप्त काम दिएर २ दिन बिदा दिन समस्या छैन । तर, कर्मचारीलाई काम नै पुगेको छैन । घुम्न पठाएर मात्र भएन ।
२०२१ भित्रै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछ । विमानस्थल तयार भईसक्दा त्यही विमानस्थलसम्म पुग्ने पहुँचमा समस्या छ । विमानस्थलसम्म पुग्ने पुर्वाधार बनाउन अब ढिला भएन ?
ढिला भएको हो । प्रदेशका मुख्यमन्त्री, महानगरका मेयर र हामी बसेर त्यो बारेमा छलफल गरिरहेका छौं । पोखराको फोहरमैला व्यवस्थापन, लेकसाइडदेखि विमानस्थलसम्म ६ लेनको सडक बिस्तार, विमानस्थल बाहिर सौन्दर्यकरण गर्ने काममा ढिलाई भइसकेको छ । अहिले पनि सामान्य पर्यटकका लागि समस्या छैन । त्यसबाहेक एसियाली विकास बैंंंक (एडीबी)ले पोखरा–मुग्लिन सडक बनाउँदैछ । त्यही काम मुग्लिनतिरबाट नभई पोखरातिरबाट सुरु गरौं भन्ने चाहेका हौ । तर, त्यो पनि ढिलाई भइसकेको छ । खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक भिœयाउनका लागि पनि सकारात्मक सन्देश दिनेगरि हामीले पूर्वाधार बनाउन ध्यान दिनुपर्छ ।गुफामा योगा गर्ने, खेलकुद, शिक्षाका पूर्वाधार खोजेर पनि थप्न चाहेका हौ ।
विमानस्थल निर्माण भईसक्दा हवाई रुटको बारेमा तयारी कहाँ पुगेको छ ?
यसमा कुनै समस्या छैन । आन्तरिक रुपमा काम भईरहेको छ । हङकङ, चीन, भारतबाट पोखरासम्म उडान गर्ने योजना छ । हवाई रुटमा समस्या हँुदैन ।
पर्यटनका हिसाबले सबै कुरा पोखरामा मात्र केन्द्रीकृत भयो भन्ने अरु जिल्लाको गुनासो छ । त्यस्तो हो र ?
हामीसँग पर्यटकको आकर्षण नै पोखरामा छ । हिमाल, ताल, गुफा सहितका पूर्वाधार छन् । त्यसैले त्यस्तो गुनासो आएको हुनसक्छ । तर, सबैतिर ध्यान दिएका छौं ।
मोटरबाटोको कारणले पोखरा सेरोफेरोको पदमार्ग ध्वस्त भयो भन्ने छ त्यसलाई कसरि रोक्ने ?
कुनैबेला जानै नपर्ने ठाउँमा मोटर पुग्यो । तर, अहिले हामी सचेत छौ । अब कुनैपनि ठाउँमा मोटरबाटो खन्न पाइदैन । वातावरणीय प्रभाव मुल्यांकन नगरी अब सडक खन्न पाइदैन भनेर हामीले सबै स्थानीय तहलाई जानकारी दिएका छौं ।
होमस्टेमा गण्डकी प्रदेश सरकारले निकै ठुलो लगानी ग¥यो । त्यो रहरमा मात्र सिमित भयो की साच्चै परिणाम आयो ?
होमस्ेटमा हामी अलि बढि उत्साही भएकै हौ । त्यो बेला आकर्षण थपिएर माग बढेको र आवेदन आएको हो । पहिलो चरणमा आकर्षण बढाउन कार्यविधिमा केही सहज पनि बनायौं । पछि कार्यविधि सच्चायौं । अहिले ३०० होमस्टेमध्ये १३३ मात्र पास भएका छन्, अरु फेल भएका छन् । १३३ वटाले दोश्रोपटक अनुदान पाएका छन् । अहिले १३ करोड रुपैयाँ अनुदान पाएका छन् । वर्षमा दुईहजार जना पर्यटक पुगेको हुनुपर्ने, पर्यटकीय गन्तव्यसँग जोडिएको हुनुपर्ने, अग्र्यानिक उत्पादन हुनुपर्ने, १० घर हुनुपर्ने, भिन्दै कोठा, शौचालय हुनुपर्ने भनेर मापदण्ड बनाएपछि सबै होमस्टे सफल हुन सकेनन् ।
होमस्टे संचालनमा कतिपयले रहर मात्र गरेका हुन् त त्यसो भए ?
होमस्टे रहरले मात्र चल्ने विषय होइन, होमस्टे नहुँदा गाउँमा पुग्दा पिढींमा बस्नुपर्दथ्यो । अहिले त्यसले व्यवसायिकता लिएको छ । होमस्टेले उत्पादनमा सघाएको छ । आयात बिस्थापित गराएको छ भने संस्कृति जोगाएको छ । होमस्टे जनता र गरिबसँग जोडिएको छ ।
अब प्रदेशको पर्यटन मन्त्रालयको प्रवद्र्धनको योजना के छ ?
अहिले पर्यटन व्यवसायीले मात्र चलायमान बनाउन प्रयास गरेका छन् । हामीले आव्हान गरेका छैनौ । अहिले पनि कोरोनाको पुरै प्रभाव सकिएको छैन । सबैले खोप लगाउन पाएका पनि छैनन् । अन्यत्र दोश्रो चरणको प्रभावले लकडाउनको प्रभाव बढ्दो छ । हामी अहिलेसम्म कम क्षतिमा रहेका छौ । कम क्षतिमा रहेको बेला अहिले नै आव्हान गर्नु हतार हुनेछ ।
तर व्यवसायी पलायन भयौं भनेका छन् नी ?
व्यवसायी जोगाउनकै लागि अहिले एकअर्बको जीवन रक्षा कोषको अनुदानको योजना ल्याएका छौ । त्यसमा १० अर्ब रुपैयाँ बैंकले लगानी गर्ने हो । तीनवर्षसम्म १० अर्ब रुपैयाँ व्यवसायिको हातमा जान्छ । तीनवर्ष प्रदेश सरकारले ब्याज तिरिदिन्छ । बिनाब्याज १० अर्ब रुपैयाँ व्यवसायीको हातमा जान्छ । त्यो एउटाले मात्र पनि पाउने होईन । साना व्यवसायीको लागि प्राण हो ।
व्यवसायीले के गर्दा पर्यटन उकासिन्छ त ?
व्यवसायी यो बेला बाच्नुपर्छ । उनीहरुका चिज बच्नुपर्छ । उनीहरु निराश हुनुहुँदैन । व्यवसायीको क्षमता बढाउनुपर्छ । अहिले पर्यटन ठप्प छ । अब पर्यटनको बाढी आउँदाका दिनसम्म आफ्नो क्षमता बढाएर तयारी गर्नुपर्छ । पूर्वाधार पनि अब बनाउनुपर्छ । ऋण गरेर भएपनि पूर्वाधार बनाउनुपर्छ, नोक्सानमा कहिल्यै जाँदैन । अहिलेको लगानीमा केही थपेर गह्रौ भारी बोक्न तयार हुनुपर्छ । क्षति पूरा गर्नका लागि पनि तयार हुनुपर्छ ।
पोखराका हालका पूर्वाधार पर्यटन क्षेत्रका लागि कत्तिको प्रयाप्त हुन् ?
हामीसँग कामचलाउ पुर्वाधार छ । तर, खर्च गर्ने महंगा पर्यटकका लागि दिने चिज छैन । स्पेशल कोठा नै दिन सक्दैनौ । पाँचतारे एउटा मात्र छ । कम्तिमा २० वटा होटल हामीलाई चाहिन्छ । नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया