असार २२, २०८२ आइतबार July 6, 2025

प्रतिवादमा उत्रिन र आवश्यकताअनुसार जिल्ला जिल्लामा संगठन बनाउन कार्यकर्तालाई आह्वान गर्दछु : माधव कुमार नेपाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अध्यक्ष केपी ओलीले पार्टी विधानको धारासमेत उल्लेख गरेर तपाईंलाई पार्टीका सबै जिम्मेवारी र पार्टीको साधारण सदस्यताबाटै निलम्बन गर्नुभएको छ, अब के गर्नुहुन्छ ?

विधानविपरीत एकपक्षीय रूपमा २८ फागुनमा गरिएका निर्णय अमान्य छन् । त्यसका आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षले पार्टीका कुनै पनि नेतालाई कारबाही गर्ने अधिकार छैन । केपी ओली विधानको उल्लंघन गर्ने अवैधानिक अध्यक्ष हुनुहुन्छ । उहाँ पार्टीको अध्यक्ष पनि हुनुहुन्न । अवैधानिक भएकाले उहाँलाई कारबाही गर्ने कुनै अधिकार पनि छैन । न वैधानिक अधिकार छ, न नैतिक । जुन मान्छेले देशको संविधान र पार्टीको विधान कुल्चेको छ, उही व्यक्तिले अरूलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार छैन । म यसलाई अस्वीकार गर्दछु । उहाँको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता–कार्यकर्तालाई कत्ति पनि विचलित नभई दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न अपिल गर्दछु । सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरुद्धमा जटेर लडिन्छ ।

पार्टीभित्र समाहित हुन छाडेर पार्टीको नाम, झन्डा र चिह्न दुरुपयोग गरेर गुटगत भेला गरेको आरोप लागेको छ, कार्यक्रम त तपाईंहरूले गर्नुभएको हो नि ? 

उहाँले नै मदन भण्डारी फाउन्डेसनका नाममा धेरै वर्षदेखि गुट सञ्चालन गर्दै आउनुभएको छ । बालुवाटारलाई गुटको अखडा बनाउनुभएको छ । सरकार, सत्ता र सरकारी साधन–स्रोतको पूरै दुरुपयोग गर्नुभएको छ । यो सबै गरेबापत उहाँलाई कारबाही गर्नुपर्छ । जेसुकै भए पनि टुक्राटुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास हामीले नै गरेका हौँ, यसको रक्षा पनि हामीले नै गर्ने हो । मैदान छोडेर भागिन्न ।

तपाईंलाई निलम्बन गर्नुभएको छ । अब यसको प्रतिक्रिया कसरी दिनुहुन्छ ?

नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौँ महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन, दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरिन्छ । हामीसँग पार्टीको विधान छ । विधानसम्मत ढंगले कानुनी आधारमा उहाँमाथि पनि कारबाही हुन्छ ।

तपाईंलाई मात्रै हो कि तपाईंको पक्षमा उभिएका अरूलाई पनि कारबाही हुने सम्भावना छ ?

सुरु त उहाँले अर्घाखाँचीका कार्यकर्तालाई कारबाही गरेर गर्नुभएको हो । हामी त दोस्रोमा परेका हौँ । तर, हामी डराउँदैनौँ । आवश्यकताअनुसार जिल्ला–जिल्लामा संगठन बनाउन, भएको कमिटी आफ्नो लाइनमा दृढताका साथ उभ्याउन, नआत्तिन र प्रतिवादमा उत्रिन म कार्यकर्तालाई आह्वान गर्दछु ।

निलम्बनपत्रमा राखिएको व्यहोरा हेर्दा, सांसद पदबाट पनि हटाउन सक्ने चेतावनीजस्तो देखिन्छ नि ?

उहाँले भविष्यमा के गर्नुहुन्छ, त्यो अहिले कुरा नगरौँ । उहाँको यो स्वेच्छाचारी कदमविरुद्ध कम्युनिस्ट आन्दोलन जोगाउन म देशभरका कार्यकर्ता पंक्तिलाई एक भएर उभिन आह्वान गर्दछु । यो पार्टी जसले निर्माण गरेका छन्, उनीहरूलाई पार्टीप्रति माया छ । ओली गुटले पार्टीलाई तहसनहस पार्न खोजेको छ । हामी त्यसको प्रतिकारमा उत्रिन्छौँ । यसका लागि म सबै कार्यकर्तालाई आह्वान गर्छु ।  नयाँ पत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार