असार २२, २०८२ आइतबार July 6, 2025

मेलम्चीले काठमाडौंको दैनिकी नै परिवर्तन हुनेछ – माधव बेल्बासे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लामो प्रतीक्षा र निरन्तरको प्रयासपछि मेलम्चीको पानी काठमाडौँ आइपुग्दा कस्तो अनुभव गर्नुभएको छ ?

आमनागरिकको जस्तै मेरो पनि भोगाइ छ । हामीले काठमाडौँमा खानेपानीको दुःख भाग्दै आयौँ । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी थप आउँदा अत्यन्त खुसी लागेको छ । यो कार्यमा सहभागी हुने जुन अवसर प्राप्त भयो त्यसका लागि नेपाल सरकार, सहकर्मी साथीहरू जसको सहयोगबाट यो सम्पन्न भएको छ, उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु ।

मैले विगतमा पनि केही ठूला आयोजनामा काम गरेँ । सिक्टा सिँचाइ आयोजना र भेरी बबई आयोजनामा काम गरेँ । मेलम्चीको सुरुङ नेपालमा सबैभन्दा लामो हो । खानेपानीका लागि दक्षिण एसियामै सबैभन्दा लामो सुरुङ हो । यो आयोजना अलि बढी चुनौतीपूर्ण भयो । म आयोजनाको अन्तिमअन्तिम चरणमा आएकाले अगाडिका चुनौती मैले सामना गर्नुपरेन । अन्तिम चरणमा आएका समस्यालाई समाधान गर्दै हामी यहाँसम्म आइपुग्दा एउटा नौलो अनुभव भएको छ । सिकाइ पनि भएको छ । यसमा संलग्न सबैका लागि पनि राम्रै सिकाइ भएको छ । सिकाइको प्रयोग गर्दै आगामी दिनमा ठूला आयोजना सम्पन्न गर्न अलिकति क्षमता विकास पनि भएको मैले महसुस गरेको छु ।

पानी त आयो तर मेलम्ची ढिलाइ हुनुका कारण के के थिए ?

व्यवस्थापन नै प्रमुख समस्या हो यसमा । निर्माण कम्पनीहरू अन्तर्राष्ट्रिय भए, कन्सल्टेन्टहरू पनि अन्तर्राष्ट्रिय नै भए । सक्षमताका हिसाबले समस्या होइन यद्यपि व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती हो । यो तहको निर्माण कार्यको व्यवस्थापन गर्न हामी एक किसिमले सफल भएको मान्नुपर्छ ।

दुईवटा सम्झौता तोड्नुपर्ने अवस्था सिर्जना भयो त्यो नै साह्रै दुर्भाग्य हो । साधारणतया ठूला आयोजनाहरूमा यस्ता घटना हुँदैनन् तर हाम्रो त दुई पटकसम्म सम्झौता तोडियो । तेस्रो पटकको सम्झौताले सम्पन्न गरियो । ढिलाइ हुनुको प्रमुख कारण नै त्यही हो । नेपालकै सबैभन्दा ठूलो टनेल निर्माणका लागि हाम्रै जनशक्तिमा पनि क्षमता विकास भइसकेको थिएन । काम गर्दै सिक्दै जानुपर्ने अवस्था छ । सरुवा बढुवाका कुरा आदि कारणले गर्दा पनि र सिकिसकेको कुरालाई फेरि नयाँ टिम जाने फेरि सिक्नुपर्नेजस्ता कुराले पनि ढिला हुन गएको अवस्था हो । मुख्य त सम्झौता तोड्नु नै ढिलाइको कारण हो ।

काठमाडौं उपत्यकामा खानेपानीको दैनिक माग ३४ करोड लिटर छ तर आपूर्ति जम्मा आठ करोड लिटर । यसमा मेलम्चीको १७ करोड लिटर थप भएको छ । समस्याबाट त अझै मुक्त हुन सकिएन नि ?

अहिले १७ करोड ल्याए पनि तत्काल चार करोड लिटर थप गर्न सक्छौँ । मेलम्चीको वातावरणका लागि छोडिएको चार करोड लिटर तत्काललाई ल्याउन सक्ने अवस्था छ । त्यसले हामीलाई २१ करोड लिटर हुन्छ । सुक्खायामको कुरा गर्ने हो भनेदेखि उपत्यकामा आठ करोड लिटर उत्पादन गरिरहेका छौँ । त्यो सबै गर्दा करिब ३० करोड लिटर पानी हामीले प्राप्त गर्छौं । यसलाई राम्रोसँग व्यवस्थापन गर्ने हो भने याङ्ग्री र लार्के नआउन्जेल पानीको पर्याप्तता महसुस गर्न सक्छौँ । याङ्ग्री र लार्केका लागि पनि तयारी भइरहेको छ । भर्खरै अर्थ मन्त्रालयमा एडीबीसँँग छलफल गरेका थियौं । उहाँहरू पनि सकारात्मक हुनुहुन्छ । थप १७-१७ करोड लिटर ल्याउने प्रयास अब अगाडि बढ्छ । त्यससँगै सुन्दरीजलमा प्रशोधन केन्द्र पनि बनाउनुपर्छ । अहिलेदेखि काम भइरहेको छ ।

यो सिकाइले हामीलाई याङ्ग्री र लार्केको पानी ल्याउन र समयमै आयोजना सम्पन्न गर्न मद्दत गर्छ । वास्तवमा आयोजना कार्यान्वयन हुन त २०औँ वर्ष लागेको होइन नि । व्यवस्थापन, काम कसरी गर्ने भन्ने कुरामा हामीले धेरै लामो छलफल गर्यौं तर निर्माणकार्य सुरु भएको त सन् २००९ को फेबु्अरीदेखि हो । ठ्याक्कै १२ वर्षमा आयोजना सम्पन्न भएको छ ।

पानी आइसकेपछि यसको व्यवस्थापन पक्षमा के भइरहेको छ ?

अबको काम एकदमै चुनौतीपूर्ण छ । पानी आएन भन्दा एउटा मात्र समस्या थियो । अब झन् सयौँ समस्या आइपर्छन् । यत्रो जनघनत्व भएको ठाउँमा पानी वितरण गर्नुपर्नेछ । हाम्रो नयाँ पाइप लाइनहरूको परीक्षण गरेर त्यसबाट वितरण गर्नुपर्नेछ । पानी आइसकेको र रिजर्भवायर भइसकेका कारण ‘इन्टरकनेक्सन’ गरेर पुरानो पाइपबाट वितरण गरेका छौँ । चुनौतीपूर्ण त छ । सिक्दै अनुभव गर्दै सुधार गर्दै लिएर जाने प्रयास गरिरहेका छौँ । बिहान ६ः०० बजेदेखि राति १०-११ बजेसम्म साथीहरू खटिराख्नुभएको छ, रिजर्भवायर पाइप लाइनहरूमा उपस्थित भइरहनुभएको छ । लेबल नापिराख्नुभएको छ । यद्यपि जनताका आशा र आवश्यकता अनुसार पानी वितरण गर्न सकिरहेका छैनौँ । कतै धेरै पानी गइरहेको छ कतै थोरै गइराखेको छ । यी सबै समस्यालाई बिस्तारै हामी समाधान गर्दै जानेछौँ ।

वितरणमा असमान गर्ने हाम्रो नियत होइन । व्यवस्थापनकै क्रममा कतिपय लाइन ठूलो लाइनमा जोडिएका छन् । ती ठूलो लाइनबाट सानासाना लाइनको पुच्छारमा पर्नेहरूका लागि त्योभन्दा अगाडि मोटर चलाइदिएर पानी तानेका कारण केही उपभोक्ता मारमा परेको हामीले बुझेका छौँ ।

घरमा प्रयोग भएको पानीको करिब ८० प्रतिशत बाहिर आउँछ भनिन्छ । प्रयोग भइसकेको फोहार पानीको व्यवस्थापन गर्न कुनै योजना छ कि ?

फोहोर पानी व्यवस्थापनको काम पनि सँगसँगै भइरहेको अवस्था छ । काठमाडौँ उपत्यकामा भविष्यमा ५० करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढेको छ । प्लानिङ गरेको अवस्था छ । अहिले तत्काल हामीले १२ करोड लिटरका लागि निर्माण भइराखेको छ । १२ करोड लिटर यहाँ उत्पादन हुने दिसाजन्य फोहोर पानी छ, त्यसलाई प्रशोधन गर्ने व्यवस्था गरिरहेका छौं । प्रशोधन गरिसकेपछि नदीमा नै पठाइन्छ । प्रशोधित पानी अन्य उपयोगका लागि कुनै समस्या छैन । ढल नदीमा जान बन्द गरियो र नदीमा प्रशोधित पानी पठायौँ भने नदीजन्य जीवका लागि पनि सहज हुनेछ । त्यो अवस्थामा हामीले बागमती नदीलाई पुनः जीवित गराउनसक्ने अवस्था छ ।

ढल व्यवस्थापनको काम अलि प्रभावकारी नभएको हो कि जस्तो देखिन्छ । सम्बन्धित निकायको पनि समन्वयकारी भूमिका देखिँदैन नि ?

ढल व्यवस्थापन पनि केयूकेएलले नै गर्ने हो । निर्माणकार्य पीआईडीले पनि गर्ने हो । अलिकति ढलको विषय किन जटिल छ भन्दा सबै निकायको बिजनेस त्यहाँ भएको छ । स्थानीय तह, काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती नदी आयोजना, बागमती सभ्यता विकास समिति र सहरी विकास मन्त्रालयअन्तर्गतले पनि ढलको काम गरिरहेको हुन्छ । यो चाहिँ साह्रै ‘कम्प्लिकेटेड’ भइरहेको छ । ढलको छुट्टै मास्टर प्लान छ । त्योभित्र रहेर सबैको संयोजनात्मक ढङ्गले काम गरे ढलको व्यवस्थापन राम्रो गर्नसक्ने अवस्था छ तर यसमा अलिकति कमी निश्चित छ । यसलाई हामीले संयोजन गरेर काम गर्नुपर्ने अवस्था छ ।

फोहर पानी तथा ढलबाट मल, विद्युत्, ग्यास उत्पादनका योजनाहरू थिए, त्यसमा कस्तो प्रगति भइरहेको छ ?

दिसाजन्य फोहोर, घरबाट निस्केको फोहोर जुन छ, त्यसलाई फोहोरकै रूपमा भन्दा पनि ‘रिसोर्स’का रूपमा लिने विश्वव्यापी मान्यता नै भइसक्यो । त्यसमा मेजर तीनवटा चीज छन् । एउटा, पानी हो, जुन शुद्ध गरेर पुनः प्रयोग गर्न सकिन्छ । पिउनै नसके पनि अन्य उपयोगका लागि त प्रयोग भइहाल्छ । दोस्रो, यसमा भएका जति पनि रसायन तत्व छन् त्यसलाई ‘फर्टिलाइजर’का रूपमा प्रयोग गर्न सकिन्छ । अहिले पनि हामीले मलका रूपमा प्रयोग गर्न सकिन्छ, मल उत्पादन हुन्छ । अर्को अहिले पनि हामीले गुह्ेश्वरीमा फोहोरबाट बिजुली निकालेका छौँ । २४० किलोवाट विद्युत् अहिले पनि उत्पादन गरिरहेका छौं । तीन करोड लिटर प्रशोधन गरेर विद्युत् उत्पादन भएको छ । ऊर्जा, मल, पानी उत्पादन हुने भएकाले यो रिसोर्सका रूपमा आइसकेको छ । गुह्येश्वरीमा जस्तो अन्य स्थानमा पनि हामीले बढावा दिन्छौँ ।

मेलम्चीको आर्थिक लगानीका बारेमा बताइदिनुस् न ?

अहिलेसम्म करिब ३० अर्बजति खर्च भएको छ, टनेल र हेडवक्र्स लगायतका काममा । यो मेलम्ची आयोजनाको हेडवक्र्सदेखि सुन्दरीजलको प्रशोधन केन्द्रसम्मको खर्च हो । पीआईडीको २० अर्ब रुपियाँ खर्च भएको छ । यसमा जाइकाको पनि लगानी छ । मुख्य गरी एडीबीको सहुलियत दरको ऋण हो ।

मेलम्ची आएर घरघरमा पानी पर्याप्त भइसकेपछि यहाँको वातावरण संरक्षण र प्रदूषण न्यूनीकरण गर्ने सन्दर्भमा कस्तो सफलता मिल्छ होला ?

पानी पर्याप्त हुनेबित्तिकै त वातावरण सरसफाइका काम स्वतः हुन्छ नै । गुणस्तरीय पानी पिउनासाथ स्वास्थ्य राम्रो हुने नै भयो । नदीमा थप पानी प्रवाह हुनेछ । नदीको वातावरण राम्रो हुन्छ । सफासुग्घरमा पानी खर्च हुनेबित्तिकै हाइजिन सम्पूर्ण हिसाबले राम्रो हुन्छ । पानीले नयाँ आयाम थप गर्छ नै । नयाँ युगको सुरुवात भएकोजस्तो मलाई लाग्छ । यसले काठमाडौँको दैनिकीमा नै प्रभाव पार्नेछ । पानी नभएपछि मान्छेलाई तनाव हुन्छ । त्यसले ‘पर्फमेन्स’मै फरक पर्छ । साधारण कुरा छ । कार्यालयमा बसिरहेको छु, घरमा पानीमा समस्या छ भने मेरो ‘पर्फमेन्स’मै असर पर्छ । मान्छे खुुसी हुन सक्दैन । खुसी नभएमा राम्रो गर्न सक्दैन । गृहिणीलाई पनि असर परिरहेको हुन्छ । उनीहरूको काममा पानीको समस्याले धरै प्रभाव पारेको हुन्छ । परिवारमा सफासुग्घर हुने कुरामा प्रभाव पार्छ । परिवारको अन्य काममा नै असर पारेको हुनसक्छ । बालबलिका हुर्काउने विषयमै समस्या भइरहेको हुनसक्छ । परिवारमा मायाको वातारण नै घटेको हुनसक्छ । त्यसले गर्दा भविष्यका कर्णधार हुर्काउनसमेत यसले प्रभाव पार्छजस्तो लाग्छ मलाई । त्ससैले मेलम्ची आएपछि र पानी पर्याप्त भएपछि काठमाडौँको दैनिकी नै परिवर्तन हुन्छ । परिवार र समाजमा खुसीको लहर आउँछ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार