काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको आव्हानमा बसेको तीन दलको बैठक बिना निश्कर्ष टुंङ्गिएको छ ।
नयाँ सत्ता गठबन्धनका गृहकार्य स्वरुप कांग्रेसले सरकार बाहिर रहेका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग बुढानिलकण्ठमा शुक्रबार गरेको संयुक्त छलफल बिना निश्कर्ष टुंङ्गिएको हो ।
बैठकमा कांग्रेस र जसपाका नेताहरुले पहिलो सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई आग्रह गरेका थिए । जवाफमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका थिए ।
करिब आधा घण्टा मात्रै बसेको बैठकमा नेताहरुले माअोवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने साझा निश्कर्ष सहित बैठक टुंङ्गिएको हो ।
बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधी र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र कृष्णबहादुर महरा सहभागी थिए ।
यस्तै जसपाबाट अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बैठकमा सहभागी थिए ।
माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । उता देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् । वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया