असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपतिद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन तथा प्रसाद ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छिन्द्रनाथको रथमा दर्शन गरी प्रसाद ग्रहण गरेकी छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशाला परिसरबाट वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइन्छ ।

रथ तानेर असनमा ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । राजतन्त्र हुँदा राजा दर्शनका लागि आउने गरेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट निरन्तरता दिने क्रम शुरु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा नं २५ का अध्यक्ष एवं सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्य, वडा नं २७ का अध्यक्ष चिनियाकाजी महर्जन लगायतले रथ राखिएको स्थलमा स्वागत गरेका थिए ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् आजदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रा शहरको भित्री भागमा तीन दिनसम्म चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथलाई बिहीबार लगन लगेपछि त्यहाँ रहेको सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा तीनपटक घुमाइन्छ ।

यस वर्ष पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरूपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया