काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट निष्काशन गरे पश्चात बालुवाटार नजाने घोषणा गरेका नेता बामदेब गौतम आज प्रधानमन्त्री ओलीसँग दुईघण्टा भेटेर भैंसेपाटी फर्किएका छन् ।
एमाले विभाजनमा ओली- नेपाल कतै नलाग्ने र पार्टी एकता राष्ट्रिय अभियान चलाउने उदघोष गरेका नेता गौतम बिहिबार साँझ ५ बजे सुटुक्क बालुवाटार पसेर गोप्य रुपमा प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका हुन् । उनले त्यहाँ प्रधानमन्त्री ओलीसँग झण्डै दुई घण्टा लामो सम्वाद गरेर फर्किएको बालुवाटार स्रोतले जनाएको छ ।
नेकपा एमाले विभाजन देशका लागि अहिले आवश्यक नरहेको र पार्टी विभाजनमा ओली र नेपाल दुवै बराबरी दोषी रहेको भन्दै गौतम पछिल्लो समय कुनै पनि पक्षमा लागेका छैनन् । तर उनका गतिविधि भने एकता राष्ट्रिय अभियानका नाममा संगठन निर्माण प्रयास गर्ने र त्यसैको बलमा बार्गेनिङ गर्ने देखिन थालेको छ ।
एकातिर केन्द्रीय समन्वय समिति घोषणा गर्ने र त्यो नेताहरुलाई सर्कुलर हुन नपाउँदै प्रधानमन्त्री ओली भेट्न बालुवाटार जाने कदमले उनको भूमिका रहस्यमय बनाईदिएको छ ।
प्रधानमन्त्रीको भूमिकाप्रति असन्तुष्ट रहेका गौतमलाई बालुवाटारले एकाएक निम्तो दिएर भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा भएका छलफलका विषय गोप्य राखिएका छन् । दुवै पक्षले भेट भएको पुष्टि गरेपनि भेटमा भएका कुराकानीका बारेमा केही खुलाएका छैनन्।
गौतमलाई आफुतिर आउन, आफुपछिको नेता बन्न र सरकारमा रोजेको मन्त्रालय लिन ओलीले अफर गरिरहेका छन् । आजको सम्वादमा पनि गौतमलाई चुनावी सरकारमा सहभागी भएर सँगै हिड्न आफु तयार रहेको जानकारी गौतमलाई ओलीले गराएको स्रोतहरुको दाबी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया