काठमाडौंः मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा सोमबार साँझ बसेको बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको हो ।
कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ ।
बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
सरकारले विदेश जानेका लागि पीसीआर परीक्षण गर्नका लागि ५ ल्याबलाई अनुमति दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिसअनुसार २०० सक्रिय कोरोना संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने र ५०० सय सक्रिय संक्रमित रहेका सहरी क्षेत्रमा पनि निषेधाज्ञा लगाउने निर्णय पारित भएको छ ।
कोरोना संक्रमितको संख्या बढ्न लागेको भन्दै तत्काल सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि बैठकले पारित गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया