असार २९, २०८२ आइतबार July 13, 2025

संयुक्त सेनाको कारबाहीमा परी १२ जना तालिबान मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी १२ जना तालिबानको ज्यान गएको छ ।

सेनाले प्रान्तीय राजधानी घाज्नी शहरको बाहिरी इलाकामा मङ्गलबार  तालिबान लडाकूलक्षित  हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रम ती आतङ्ककारीहरु मारिएका बताइएको छ ।

अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट  बाँकी सबै विदेशी सेनाको फिर्ताको अभियान पुनःशुरु भएको बताउनु भएको छ ।

यसअघि अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट नेटो सेनाले अफगानिस्तान छोडेका थिए । तर यहाँ शान्तिको स्थापना हुन भने सकेको थिएन ।

उहाँले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णयअनुरुप आफूले सेना फिर्ताको तयारी शुरु गरिसकेको पनि जनरल मिलरले बताउनुभयो । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने निर्णय गर्नुभएको थियो ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानमा सेना तैनाथ गर्ने कार्य अमेरिकाको तत्काल प्राथमिकतामा नरहेको बताउनु भएको थियो । यसै महिनाको शुरुमा राष्ट्रपति बाइडेनले अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट स्वदेश फर्काइने घोषणा गर्नुभएको थियो ।

अमेरिकाको वल्र्ड ट्रेड टावरमा अफगानिस्तानमा सक्रिय अल–कायदा समूहले आक्रमण गरेलगत्तै अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्नुका साथै सेना तैनाथ गरेको थियो ।

जनरल मिलरले काबुलमा पत्रकारसँग कुरा गर्दै आफूले तालिवान समूहका जिम्मेवार सदस्यलाई देशभित्र हिंसात्मक गतिविधि नगर्न अनुरोध गरेको बताउनुभयो ।

यदि हिंसात्मक गतिविधि पुनःशुरु भए त्यो अफगानी जनता र देशकै लागि दुर्भाग्यपूर्ण हुने सन्देश आफूले तालिवानी नेतालाई दिएको पनि जानकारी दिनुभयो ।

तालिवानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर सेप्टेम्बर २००१ मा अमेरिकी आक्रमणपछि तालिवानीको सत्ता पतन भएको थियो ।

सन् २०२० मा तालिवानसँग भएको सम्झौता बमोजिम आगामी मे १ देखि विदेशी सेना फिर्ता हुने पूर्वनिर्धारित कार्यसूची रहेको छ ।

जनरल मिलरले सबै अमेरिकी सैनिक फिर्ता भएसँगै विदेशी सेनाका सैन्य अखडा अफगानी रक्षा मन्त्रालय र अफगान सेनालाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया