असार २४, २०८२ मंगलबार July 8, 2025

अछामका सम्पूर्ण शैक्षिक संस्था बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत मङ्सिर महिनाको दोस्रो साताबाट सञ्चालनमा आएका अछामका शैक्षिक संस्था पुनः बन्द गरिएका छन् ।

जिल्लामा कोरोना भाइरसको संक्रमण बढिरहेको र नेपाल सरकारले पनि विद्यालय लगायत भिडभाड हुने कार्यमा रोक लगाएपछि अछामका सम्पूर्ण शैक्षिक संस्था कम्तीमा वैशाख मसान्तसम्मका लागि बन्द गरिएका हुन् ।

सोमबार मात्रै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाको नन्दा माध्यमिक विद्यालयका १५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लाका दश वटै स्थानीय तहका ४ सय ९० सामुदायिक सहित करिब ५ सय बढी विद्यालय बन्द गरिएका हुन् ।

सरकारको निर्णय र स्थानीय तहको निर्णयको आधारमा बुधवारदेखि जिल्लाका सामुदायिक विद्यालय, क्याम्पस तथा संस्थागत विद्यालय बन्द गरिएका शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो ।

कतिपय पालिकाले वैशाख मसान्तसम्म तथा कतिपय पालिकाले अर्को सूचना जारी नभए सम्म अनिश्चित कालका लागि बन्द गरिएका पाइएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा अर्को सूचना जारी नभए सम्मका लागि विद्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले बताउनुभयो ।

अछामका कतिपय पालिकाका विद्यालयमा वैशाख १६ गतेदेखि तथा कतिपय विद्यालयमा आउँदो जेठ २ गतेका लागि परीक्षाको मिति समेत निर्धारण गरिसकिएको थियो ।

ढिलो गरी सुरु भएको शैक्षिक सत्र तथा परीक्षाको मुखमै विद्यालय बन्द हुँदा विद्यार्थीलाई भने असहज भएको छ । विद्यालय बन्द हुँदा घरमा पठनपाठनको उचित वातावरण नहुने तथा अध्ययन गरेका विषय बिर्सिने सम्भावना रहेको जिल्लाको मङ्गलसेन ६ मा रहेको मालिका आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तराज ढुङ्गानाले बताउनुभयो ।

आफ्नो विद्यालयमा करिब ८५ देखि ९० प्रतिशत कोर्स पूरा भएको तर सम्पूर्ण रुपमा कोर्स पूरा हुन नसकेको उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया