काठमाडौंः नेकपा एमालेको खनाल-नेपाल निकट युवा संघ नेपालले कोरोना संक्रमणका बेला देशैभरि १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।
युवा संघको केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले आफू सुरक्षित रहँदै बिभिन्न क्षेत्रमा सहयोग गर्ने उदेश्यले १० हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।
युवा परिचालन तथा व्यवस्थापनका लागि केन्द्रमा केन्द्रीय कोभिड–१९ केन्द्रीय समन्वय समितिले संयोजन गर्ने र मातहतमा जिल्ला कमिटी तथा स्थानीय तह (पालिका स्तरीय) कमिटीले स्वयंसेवकको व्यवस्थापन एवं परिचालन गर्ने युवा संघ नेपालका प्रवक्ता संजीप राईले बताए ।
कोभिड १९ को समस्या, समन्वय र सहयोगका सम्बन्धमा संघका तर्फवाट आवश्यक समन्वय एवं संयोजन गर्न संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा कोभिड १९ केन्द्रीय सहयोग समन्वय समिति गठन गरिएको छ ।
सो समितिले आवश्यक योजनाहरुको तय, कार्यान्वयन एवं विभिन्न कार्यक्रमहरू गर्नेछ । संघका केन्द्रीय उपाध्यक्ष पौडेलको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय स्वास्थ्य विभाग, युवा शक्ति विभाग, जनस्वयंसेवक विभाग, बागमती प्रदेश इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष, प्रचार विभाग, कार्यालय विभाग, आर्थिक विभाग, गैर भौगोलिक प्रदेश कमिटीका ईञ्चार्ज, सहईञ्चार्ज र अध्यक्ष समितिको सदस्य रहने निर्णय भएको प्रवक्ता राईले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया