असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उहाँ अहिले कक्षा १० मा हुनुहुन्छ ।

शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उहाँको मन भक्कानिएर आउँछ तर लक्ष्मीको घरमा मोबाइल चार्ज गर्नेसम्मको विद्युत् छैन । गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइलमार्फत साथीहरूलाई फोन गरेर पढाइका विषयमा बुझ्नुबाहेक लक्ष्मीले केही गर्न सक्ने अवस्था नभएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “गाउँमा विद्युत्, इन्टरनेट तथा टिभी केही पनि छैन, कसरी वैकल्पिक उपाय अपनाएर पढ्नू । बाख्रा चराउन जङ्गल गएर पढाइ चौपट भयो ।” उहाँजस्तै बारेकोट गाउँपालिका–५ पाखाका गणेशविक्रम शाहीको पीडा पनि कम छैन ।

दैनिक आमाबुवासँग घरको काम गर्नेदेखि पशुचौपायालाई घाँस जम्मा गर्नु नै उहाँको दैनिकी बनेको छ । उहाँको गाउँमा एक महिना अघिसम्म फोनको टावर थिएन, बल्ल नमस्तेको टावर निर्माणपछि साथीभाइ तथा शिक्षकसँग सम्पर्क गर्ने वातावरण सिर्जना भएको छ ।

विद्युत् नहुँदा भर्खरै किनेर ल्याएको मोबाइलसमेत चार्ज गर्न विद्यालयमा जानुपर्ने बाध्यता रहेको शाहीले बताउनुभयो । शहरबजारमा टिभी र अनलाइनमार्फत कक्षा सञ्चालन भए पनि गाउँमा त्यो शिक्षाको प्रभाव कुनै पनि नपरेको उहाँले जानकारी दिनुभयो ।

सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तारसँगै इन्टरनेट सेवा हुँदा विद्यार्थीहरुले प्रविधिको भरपूर मात्रामा सदुपयोग गरे पनि दूरदराजमा बस्ने विद्यार्थीहरु भने पशुचौपायाको भरपर्दो आहार खुवाउने साथी भएको विद्यार्थीहरु बताउँछन् । “गाउँमा घुम्दा कोरोनाको डर, कुनै काम नगरेर घरमा बस्न पनि समस्या छ, त्यसैले सकेको काम गर्नुपर्ने बाध्यता छ”, जुनिचाँदे गाउँपालिका–७ लुहादहका कमान खड्काले भन्नुभयो ।

सदरमुकाममा प्रहरी प्रशासनको कडा निगरानी हुँदा घरबाहिर निस्कन गाह्रो हुँदा विद्यार्थी घरमै बसेर पढिरहेका छन् । दूरदराजका गाउँमा प्रहरीको सहज पहुँच नहुँदा निषेधाज्ञाको पालना नहुने तर विद्यालय बन्द हुँदा घरायसी काममा विद्यार्थी लाग्ने गरेका छन् । यो समस्या जाजरकोट मात्र नभएर कर्णाली प्रदेशका अधिकांश पहाडी तथा हिमाली जिल्लाका विद्यार्थीको साझा समस्या हो । एकातिर कोरोनाबाट जोगिनु अर्कोतिर पढाइलाई पूरा गर्नु विद्यार्थीका लागि चुनौतीको विषय बन्दै गएको छ । शहरबजार र गाउँका विद्यार्थीको पढाइसमेत फरक हुने गरेको छ ।

शहरका विद्यार्थीले विभिन्न माध्यमबाट दोहोरो शिक्षा लिइसक्ने समयसम्म गाउँका विद्यार्थीले एकसरो पढ्न पाउने अवस्थासमेत मुस्किल बन्दै गएको छ । अघिल्लो वर्षको कोरोनाका कारण बल्लबल्ल विद्यालय सञ्चालन भएर आधा पढाइ हुनेबित्तिकै फेरि यो वर्षसमेत सोही घटना दोहोरिँदा विद्यार्थी मर्कामा परेको बताउँछन् ।

जाजरकोटमा विद्यार्थीको सङ्ख्या ८१ हजार २३८ रहेको शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटका सूचना अधिकारी तिलक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटमा ४१६ सामुदायिक विद्यालय र २६ संस्थागत विद्यालय छन् । शिक्षा मन्त्रालयले गत वर्ष जेठ १८ गते जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ बमोजिम टेलिभिजन र रेडियोबाट पनि पाठ्यवस्तुमा आधारित सामग्री प्रसारण हुँदै आएका छन् ।

यो सबै सङ्ख्यामा रहेका विद्यार्थीले सरकारद्वारा गरिएको प्रसारण शिक्षाको सदुपयोग गर्न सकेका छैनन् । सूचना अधिकारी भट्टराईका अनुसार अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि विभिन्न माध्यमबाट काम चालु रहे पनि सबै स्थानका विद्यार्थीसँग प्राविधिको पहुँच नभएकाले समस्या भएको बताउनुभयो ।

शिक्षा ऐन, २०२८ (नवौँ संशोधन)को दफा १९ ले दिएको अधिकार प्रयोग गरी संशोधित नियमावलीको नियम ८४ को (१) मा “महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा मन्त्रालयले गर्न सक्नेछ”, भनिएको छ । कर्णालीका कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्लामा फागुनदेखि शैक्षिक सत्र शुरु हुँदै आएको छ । कर्णालीका अन्य जिल्लामा मात्र वैशाखमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार